काठमाडौं, १६ साउन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जसका कारण हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली रही मधेश प्रदेशमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।
बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रही कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका प्राय स्थानहरूमा तथा तराई भू–भागका केही स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
आज राति भने देशको पहाडी भू–भागमा साधरणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
