
पर्सा, साउन १७ ।पर्सा जिल्लाको सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करीको चुनौती झनै गम्भीर बन्दै गइरहेका बेला इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले ठूलो मात्रामा गाँजासहित एक युवकलाई पक्राउ गर्न सफल भएको छ।प्रहरीका अनुसार, पटेर्वा सुगौली गाउँपालिका–४ स्थित करबोला चोकमा नियमित चेकजाँचका क्रममा आज बिहान करिब ७:१० बजे भारततर्फ गइरहेको मोटरसाइकललाई रोकेर जाँच गर्दा गाँजा फेला परेको हो। बीआर ०५ एजी ६८०५ नम्बरको सो मोटरसाइकलमा सवार व्यक्ति पर्सा जिल्लाको पर्सागढी नगरपालिका–९, एकटाङ्गा निवासी ३४ वर्षीय जग मोहन यादव रहेका छन्।प्रहरी टोलीले चेकजाँचका क्रममा यादवले बोकेको प्लास्टिकको बोराभित्र र मोटरसाइकलको सिटमुनी लुकाइएको अवस्थामा रहेको लागुऔषध गाँजा फेला पारेको हो। बरामद गरिएको गाँजाको तौल कुल ८ किलो ४४० ग्राम रहेको पुष्टि भएको छ।इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका अनुसार, पक्राउ परेका युवकलाई गाँजासहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ।यस घटनाले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार तथा तस्करीका गतिविधिहरू अझ सक्रिय हुँदै गएको संकेत गरेको छ। प्रहरीले यस्ता गैरकानुनी क्रियाकलापमा संलग्न व्यक्तिहरूमाथि निगरानी तथा कारबाहीलाई थप कडाइका साथ अगाडि बढाइने जनाएको छ।— कलिका खबर
