भारतबाट तस्करी गरिएको ४.३८ लाख बराबरको सामान सशस्त्र प्रहरीद्वारा बरामद, भन्सार बुझाइयो

पर्सा, साउन १८। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउने प्रयास गरिएको ४ लाख ३८ हजार ७५ रुपैयाँ बराबरको सामानसहित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ।साउन १७ गते पर्सा जिल्लाको पकाहाँमैनपुर गाउँपालिका–५ सबैठवा क्षेत्रबाट भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा दुई वटा मोटरसाइकलमा लोड गरिएको तस्करीको सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। बरामद सामानमा कपडा, कस्मेटिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरू रहेका छन्, जसको अनुमानित मूल्य २ लाख ३८ हजार ७५ रुपैयाँ बराबर रहेको बताइएको छ।तस्करीमा प्रयोग गरिएका दुई वटा मोटरसाइकलको मूल्य २ लाख रुपैयाँ तोकिएको छ।बरामद गरिएको सम्पूर्ण सामग्री र मोटरसाइकलहरू साउन १८ गते वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिएका छन्।सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा सक्रिय रुपमा गस्ती तथा निगरानी बढाउँदै तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरिरहेको छ। यस किसिमका निरन्तर प्रयासले अवैध कारोबारमा संलग्न समूहहरूलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *