वीरगञ्जमा मानव बेचबिखन प्रयास विफल : प्रहरीको सतर्कता र सक्रियताले १४ वर्षीया किशोरीको जीवन बच्यो।

पर्सा, साउन १८। वीरगञ्जमा मानव बेचबिखनको एक गम्भीर प्रयास प्रहरीको सक्रियता र समयमै गरिएको कारबाहीका कारण विफल पारिएको छ। उक्त कारबाहीमार्फत प्रहरीले १४ वर्षीया एक किशोरीलाई सकुशल उद्धार गर्दै मानव तस्करीमा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले बिहान करिब ५:०० बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिकको सडक खण्डमा विशेष चेकजाँचका क्रममा किशोरीलाई फेला पारी तस्करीको प्रयास विफल पारेको हो।प्रहरी अनुसन्धान अनुसार, काठमाडौं निवासी किशोरीलाई प्रेम सम्बन्धमा फसाई विवाहको प्रलोभनसहित भारतको दिल्लीमा ‘रोजगारको अवसर’ दिने बहानामा वीरगञ्जसम्म ल्याइएको थियो। यस्तै झुटो सपना देखाएर किशोरीलाई बेचबिखन गर्न खोजिएको आशंका प्रहरीले जनाएको छ।यस घटनामा संलग्न पर्सा सखुवा प्रसौनी गाउँपालिका–५ निवासी २५ वर्षीय हिरा माझीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ। उनलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

प्रहरी प्रमुख एसपी गौतम मिश्रको नेतृत्वमा द्रुत र निर्णायक कारबाहीमानव तस्करीजस्तो जघन्य अपराधको चपेटाबाट एक निर्दोष किशोरीको जीवन जोगाउन सफल प्रहरी टोलीको कार्यले व्यापक प्रशंसा पाइरहेको छ। पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रको रणनीतिक नेतृत्व, कडाइका साथ लागू गरिएको शून्य सहनशीलताको नीतिले जिल्लामा अपराध नियन्त्रणमा उल्लेखनीय सफलता दिलाएको छ।

पछिल्लो समय प्रहरीको सक्रियताले जिल्लामा संगठित अपराध, लागुऔषध कारोबार र मानव बेचबिखनजस्ता अपराधहरूमा उल्लेख्य गिरावट आएको छ।सामाजिक संघसंस्थाको पनि प्रहरीलाई समर्थन मानव तस्करी विरुद्धको लडाइँमा प्रहरीको यो सफलता उदाहरणीय रहेको भन्दै सेवा समूह नेपाल, विभिन्न मानव अधिकारकर्मी, सामाजिक अभियन्ता तथा संघसंस्थाहरूले प्रहरीलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका छन्। उनीहरूले कानूनको कठोर कार्यान्वयन मार्फत मानव बेचबिखनविरुद्धको अभियानलाई थप सशक्त रूपमा अगाडि बढाउन आग्रह गरेका छन्।

प्रहरीको जिम्मेवार कार्यशैली र उच्च सतर्कताले एक किशोरीको भविष्य अन्धकारमय बन्नबाट बचाएको यो घटनाले हामी सबैलाई सचेत र सजग हुन प्रेरित गर्छ। मानव बेचबिखनजस्ता जघन्य अपराधमाथि समाज र राज्य दुवै पक्षको कडा निगरानी र निरन्तर प्रयास जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *