काठमाडौं। भारतबाट नेपाल भित्र्याउन लागिएको मसुरो र मासको दाल परीक्षणमा न्यून गुणस्तरको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ती दालहरूको आयात प्रक्रिया रोक्का गरेको छ ।
कञ्चनपुरको भिमदत्तनगरस्थित न्यू श्री बेटल ट्रेडर्सले भारतबाट धनगढी भन्सार नाकामा ल्याएको २,९२० केजी मसुरोको दाल र २,२५० केजी मासको दाल परीक्षण गर्दा मापदण्ड अनुरूप नपुगेको पाइएपछि विभागले ती दालहरू नेपाल भित्र्याउन नमिल्ने निर्णय गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत रहेको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, धनगढीले गरेको परीक्षणमा मसुरोको दालमा किराले क्षति पुर्याएका दाना तोकिएको मापदण्डभन्दा बढी फेला परेका थिए । त्यसैगरी मासको दालमा बाह्य रंगको उपस्थिति भेटिएको थियो। यी कारणले विभागले दुवै दाल नेपाल भित्र्याउन नदिने निर्णयसहितको प्रतिवेदन धनगढी भन्सार कार्यालयमा पठाएको हो ।
विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जारी गरेको प्रेस नोटमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को व्यवस्था अनुसार खाद्य पदार्थ आयात गर्नुअघि स्वीकृति लिनु अनिवार्य रहेको उल्लेख गरिएको छ। ऐनको दफा १३ को उपदफा (१) अनुसार खाद्य व्यवसायीले पैठारीपूर्व स्वीकृति लिनुपर्नेछ भने उपदफा (२) अनुसार प्रवेश नाकामा ल्याएपछि पुनः प्रवेश अनुमति लिएर मात्र आयात गर्न सकिनेछ । विभागले सम्पूर्ण खाद्य व्यवसायीलाई ऐन अनुसारका प्रक्रिया अवलम्बन गर्न आग्रह गर्दै त्यसअनुसार नगरेमा कानुनी कारबाही हुने चेतावनी समेत दिएको छ ।
