लेखराज भन्छन्: केपी ओलीलाई बुझ्न अध्ययन-अनुसन्धान गर्नुपर्छ

काठमाडौँ : नेकपा एमालेका सचिव लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छोटो समयमा बुझ्न नसकिने टिप्पणी गरेका छन्। प्रेस चौतारीले धनगढीमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले एमाले अध्यक्ष समेत रहेका ओलीलाई बुझ्न अध्ययन–अनुसन्धान गर्नुपर्ने बताएका हुन्। ‘तपाईँ हामीले केपी ओलीलाई छोटो समयमा बुझ्न सक्दैनौँ,’ उनले भने, ‘मैले बुझेको छु, यहाँ म भन्दा लामो संगत गरेकाहरू हुनुहुन्छ। उहाँहरूले बढी बुझ्नुभएको होला।’

ओलीलाई बुझ्न लामो अध्ययन गर्नुपर्ने भट्टले बताए। उनले भने, ‘मैले बुझेको के हो भने, केपी ओलीलाई बुझ्न समय लाग्छ। अध्ययन गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ, उहाँ के हो भन्ने।’ ओलीले कतिखेर के कदम चाल्छन् भन्ने कुरा पनि कसैले बुझ्न नसक्ने उनले बताए। ‘चालेपछि बल्ल थाहा हुन्छ,’ उनले भने।

ओली एउटा संघर्षबाट आएको भट्टले बताए। नेकपा विभाजनका बेला आफूले ओलीलाई बुझेकै कारण एमालेमा लागेको उनले बताए। ‘मलाई विश्वास थियो केपी ओलीलाई साथ दिनुपर्छ, यो पार्टी बन्छ भन्ने। यतिखेर उभिनुपर्छ, यो नेतृत्वको रक्षा गर्नुपर्छ भन्ने,’ भट्टले अगाडि भने। नेतृत्वको रक्षा भनेको विचारको रक्षा रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *