
पर्सा। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजना तथा बिरगन्ज तेक्वान्डो डोजाङ्ग (BIRGUNJ TAEKWONDO DOJANG) को विशेष सहयोगमा ‘SELF-DEFENCE/UAC अनुशिक्षण तालिम’ आजदेखि औपचारिक रूपमा प्रारम्भ भएको छ।मिति २०८२ साउन २८ गते बिहान १०:०० बजे भएको उद्घाटन समारोहका प्रमुख अतिथि गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले तालिमको उद्घाटन गरेका थिए। कार्यक्रममा गणका सशस्त्र प्रहरी अधिकृत, जुनियर अधिकृत, बिल्लादार/जवान, तालिमका प्रमुख प्रशिक्षक 4th Dan Black Belt एशियन प्लेयर महमद वेश तथा अन्य प्रशिक्षकहरू—2th Dan Black Belt प्रथम बर्णवाल, 2th Dan Black Belt ईमरान शेख, रोशन पटेल, सुजित यादव, राजन गुप्ता, हिमानी गुप्ता, नेहा झा र सन्तोष कुमार रौनियार उपस्थित थिए। साथै एभिन्यूज टेलिभिजन शाखा कार्यालय बिरगन्जका सञ्चारकर्मी ग्यासु मिया देवान र नियमित अनलाइन खबर बिरगन्जका समाचार प्रमुख सुस्मिता यादवको समेत उपस्थिति रहेको थियो।कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लले तालिमको सञ्चालन, महत्व, उद्देश्य र कार्ययोजना प्रस्तुत गर्दै आत्मरक्षाको परिचय, सिद्धान्त, चेतावनी संकेत, व्यवहारिक अभ्यास, सुरक्षात्मक उपाय, शारीरिक तथा मनोवैज्ञानिक आत्मरक्षा, लैङ्गिक हिंसा तथा दुर्ब्यवहारबाट बच्ने उपाय, कानुनी आधार र सहायता प्रणाली, सामूहिक अभ्यास तथा शारीरिक व्यायामजस्ता विषयमा प्रशिक्षण दिइने जानकारी दिए।तालिममा ९ जना बाह्य प्रशिक्षक तथा ३ जना सशस्त्र प्रहरी कर्मचारी प्रशिक्षकले प्रशिक्षण दिनेछन्। सहभागीमध्ये नं. १३ गणबाट ५ महिला र ५ पुरुष गरी १० जना तथा अन्य मातहत युनिटबाट ५ महिला र २० पुरुष गरी २५ जना भई जम्मा ३५ जना (१० महिला सहित) सशस्त्र प्रहरी कर्मचारी सहभागी छन्।१० कार्य दिन चल्ने यो तालिम हरेक दिन बिहान ७:०० देखि ९:०० बजेसम्म सञ्चालन हुनेछ। अन्तिम सत्र मिति २०८२ भदौ ८ गते सम्पन्न हुने तालिका रहेको छ।




