
भदौ ९। पर्सा जिल्लामा अपराध नियन्त्रण र सामाजिक शान्ति–सुरक्षाको संवर्द्धनलाई प्राथमिकतामा राख्दै जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरी बल पर्साले संयुक्त रूपमा दैनिक सचेतना अभियान सञ्चालन गरिरहेका छन्।सशस्त्र प्रहरीका एसपी पुरणचन्दका अनुसार, जिल्लाभर क्रियाशील २४ वटा युनिटहरूले हरेक दिन तीन–तीन वटा समुदायमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यसरी दैनिक ७२ वटा सचेतना गतिविधि सञ्चालन भइरहेको छ, जसले हजारौं नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ।यस अभियानमार्फत स्थानीय बासिन्दालाई शान्ति–सुरक्षाको महत्व, सामाजिक अनुशासनको पालना, विपद् व्यवस्थापनमा सतर्कता, लागुऔषध दुरुपयोगविरुद्धको लडाइँ, सीमापारि हुने गैरकानुनी गतिविधि नियन्त्रण, महिला तथा बालबालिकाको सुरक्षा लगायतका महत्वपूर्ण विषयमा अभिमुखीकरण गरिँदै आएको छ।एसपी पुरणचन्दका भनाइअनुसार, निरन्तर सचेतनामूलक कार्यक्रमले नागरिक र सुरक्षा निकायबीचको विश्वास सम्बन्ध अझ प्रगाढ भएको छ। साथै, यसले अपराध नियन्त्रण र सामाजिक अनुशासन कायम राख्न उल्लेखनीय टेवा पुग्ने विश्वास गरिएको छ।स्थानीय समुदायले समेत सशस्त्र प्रहरीको यो पहललाई खुलेर स्वागत गरेका छन्। “सुरक्षा निकाय केवल अपराधपछि मात्र सक्रिय हुन्छ भन्ने धारणा अहिले बदलिएको छ। प्रहरी आफैं समुदायमा आइपुगेपछि हामीलाई थप सुरक्षा र भरोसा मिलेको छ,” स्थानीयवासीहरूको भनाइ छ।सशस्त्र प्रहरी बल पर्साले विगतदेखि नै सीमाक्षेत्रमा गैरकानुनी गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन र सामाजिक अपराधविरुद्धको अभियानलाई प्राथमिकता दिँदै आएको छ। अहिले सञ्चालन भइरहेको दैनिक सचेतना अभियानलाई दीर्घकालीन सुरक्षाको आधार मानिएको छ।
