बसन्तपुर–इन्द्रचोक क्षेत्रका दुई रेस्टुरेन्टमा अखाद्य तेल प्रयोग, ३१ लिटर नष्ट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बसन्तपुर र इन्द्रचोक क्षेत्रमा सोमबार गरेको खाद्य अनुगमनमा दुई रेस्टुरेन्टमा मापदण्डविपरीतको तार्ने तेल फेला परेको छ ।

महानगरको कृषि तथा पशुपंक्षी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती प्रयोगशाला प्रयोग गरी चार रेस्टुरेन्ट र एक मिठाई पसलमा निरीक्षण गरेको थियो ।

टोटल पोलार मट्रियल्स उपकरणमार्फत गरिएको परीक्षणमा दुई रेस्टुरेन्टको तार्ने तेल स्वास्थ्य मापदण्डअनुरूप नभएको पुष्टि भएपछि व्यवसायीको रोहबरमा ३१ लिटर अखाद्य तेल तत्काल नष्ट गरिएको हो ।

यसैबीच, मिठाई पसलको नमुना परीक्षण गर्दा सबै मिठाई मापदण्डअनुरूप सुरक्षित रहेको पाइएको छ ।

अनुगमन टोलीले सरसफाइमा ध्यान दिन, तेल बारम्बार प्रयोग नगर्न, शाकाहारी र मांशाहारी परिकार छुट्टै भण्डारण गर्न, एप्रोन, हेरनेट र मास्कको अनिवार्य प्रयोग गर्न व्यवसायीलाई निर्देशन दिएको छ ।

विभागले उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नियमित खाद्य अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *