काठमाडौँ । दसैँ आउन एक महिना बाँकी छ । दसैँमा लत्ताकपडाको खपत धेरै हुने हुँदा व्यवसायीले चीनबाट सामान मगाउने गर्छन् । तथापि चीनसँग जोडिएका रसुवाको केरुङ र सिन्धुपाल्चोक तातोपानी नाका बन्द हुँदा चाडपर्वलक्षित सामान डेढ महिनादेखि नेपाल भित्रिन सकेका छैनन् । गत २४ असारमा आएको बाढीका कारण नेपाल र चीन जोड्ने उत्तरी नाका रसुवाको मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट मानिस र व्यापारिक सामानको आवागमन ठप्प भएको हो ।
रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत रवीन्द्रप्रसाद प्याकुरेलले डेढ महिनादेखि रसुवा नाका ठप्प भएकामा मितेरी पुल निर्माणको काम भइरहेकाले दसैँअगाडि नाका खुल्ने सम्भावना नभएको बताए ।
यस्तै बाढीपहिरोकै कारण सिन्धुपाल्चोकको तातोपानी नाका पनि बन्द हुँदा सामान बाटोमै रोकिएका हुन् । तातोपानी नाका भदौमा एक हप्ता खुला भए पनि फेरि बन्द भएको छ ।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्र चुँडालले पानी परिरहेको र बाढीपहिरोको जोखिम अझै रहेकाले कहिलेसम्म नाका सञ्चालन गर्न सकिन्छ भन्ने यकिन नभएको बताए । प्राकृतिक प्रकोपले डेढ महिनादेखि नाका बन्द हुँदा दसैँलक्षित सामान बाटोमै रोकिएका छन् ।
नेपाल समुद्रपार निकासी पैठारी सङ्घका अध्यक्ष शिवकुमार अग्रवालले तातोपानी नाकामा तीनदेखि चार सय सङ्ख्यामा सामान बोकेका गाडी रोकिएको जानकारी दिए । बाढीले रसुवाको मितेरी पुल बगाएपछि तातोपानी पनि बन्द भएको छ । “बिचमा एक हप्ता खुलेर २०÷३० गाडी सामान आएर फेरि नाका बन्द भएको छ,” उन भने, “दुवै नाका बन्द हुँदा दसैँका लागि ल्याइएका सामान बाटोमै रोकिएका छन् ।”
दसैँलक्षित सामान नाकामा रोकिई समयमा आउन नसक्दा व्यवसायीलाई ठुलो क्षति हुने उनको भनाइ छ । भारतको कोलकाताबाट सामान ल्याउँदा ४५ दिन लाग्ने र ढुवानी खर्चसमेत बढी हुने उनको भनाइ छ । चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन मुस्ताङको कोरला नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले चाडपर्वलक्षित सामान ल्याउनका लागि सम्बन्धित मन्त्रालयबिच छलफल गरेर जतिसक्दो बाटो खुलाउन पहल भइरहेको जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भत्केको बाटो स्तरोन्नति गर्ने काम गरिरहेको र चीनतर्फबाट बेलिब्रिज निर्माणको काम भइरहेको उनको भनाइ छ ।
चीनसँग जोडिएका अन्य नाका खुलाउनसमेत व्यवसायीले माग गरेका छन् । मुस्ताङको कोरला नाका १२ महिनामै सञ्चालन गर्न सकिने अवस्थामा छ । कोरला नाकामा चीनतर्फ पूर्वाधार तयार भई नेपालतर्फ कोरलासम्म सडक पुगिसकेको बताइएको छ । ताप्लेजुङको ओलाङचुङ्गोला नाकाबाट पनि दुई मुलुकबिचको व्यापार सञ्चालन गर्न सकिने एक अध्ययनले देखाएको छ । नेपालको चीनसँग १३ प्रतिशत व्यापार हुने गरेको छ । डेढ महिनादेखि नाका बन्द हुँदा पछिल्लो समय चीनसँगको व्यापार बन्द भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८१÷८२ मा तातोपानी नाकाबाट ५० अर्ब रुपियाँभन्दा बढीको र रसुवागढी नाकाबाट ८५ अर्ब रुपियाँभन्दा बढीको सामान आयात भएको छ । चीनबाट आयात धेरै भए पनि नेपालबाट न्यून परिमाणमा निर्यात हुने गरेको छ । रसुवा नाकाबाट हस्तकलाका सामान, मूर्ति, बाँसका मुढालगायतका सामान निर्यात हुने गरेको थियो ।
