रेल चढेर चीन पुगे किम जोङ

काठमाडौँ । उत्तर कोरियाका नेता किम जोङ उन चीन पुगेका छन् ।

चीनले बुधबार बेइजीङमा आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन उनी आफ्नो विशेष रेलबाट मंगलबार बिहान चीन प्रवेश गरेका हुन् ।सोमबार प्योङयाङबाट हिँडेका किम मंगलबार बिहान चीन प्रवेश गरेको उत्तर कोरियाको सरकारी पत्रिका रोदोङ सिन्मुनले जनाएको छ । रोदोङ सिन्मुनले किम, परराष्ट्र मन्त्री चो सोन हुई लगायत उनका सहयोगीहरूसँगको तस्बिरहरू पनि छापेको छ ।

तस्बिरमा उनीहरू अँध्यारो हरियो रङ्गको रेलभित्रको डेस्कमा बसेर मुस्कुराउँदै गरेका देखिन्छन् । यो रेल किमले यसअघि अन्य देशहरूमा यात्रा गर्न प्रयोग गरेको ‘बुलेटप्रुफ’ रेलजस्तै देखिन्छ भनेर समाचार संस्था रोयटर्सले जनाएको छ ।

शत्रुहरूले हवाइजहाजमा यात्रा गर्दा आक्रमण गर्न सक्ने ठानेर किमका बुवा किम जोङ इल र हजुरबुवा किम इल सुङले रेल यात्राको परम्परा बसालेका थिए । त्यही परम्परालाई निरन्तरता दिंदै किम जोङ उन पनि सुविधा सम्पन्न विशेष रेलमा यात्रा गर्छन् । बेजिङमा हुने सैन्य परेडमा किमसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायत विभिन्न देशका राष्ट्र र सरकारप्रमुख सहित सहभागी हुनेछन् ।

सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सो परेडमा सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *