सामाजिक सञ्जाल बन्द गरेर मात्र समस्या समाधान हुँदैन : सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गर्नु समस्याको समाधान नभएको बताएका छन्। पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै केसीले सामाजिक सञ्जाल अहिले नेपाली जनताको ‘दुःखसुखको साथी’ बनेको बताएका हुन् ।

उनले यसलाई राजनीतिक विषयको रूपमा मात्र हेर्नु उचित नभएको भन्दै यसले विपद्को समयमा सूचना आदानप्रदान गर्न र बिरामी पर्दा सहयोग जुटाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गराए। उनका अनुसार, संसारका धेरै देशमा सामाजिक सञ्जालहरू दर्ता भएका छन्, तर नेपालमा दर्ता हुन नआउनु ठीक होइन। उहाँले यस विषयमा छलफल गरेर समाधान खोज्नुपर्नेमा जोड दिए।

सांसद केसीले सामाजिक सञ्जाल बन्द गराएकोमा आम नागरिकहरू रुष्ट भएको भन्दै यसको समाधान छिटोभन्दा छिटो गर्नुपर्ने बताए। उनले नेपाली कांग्रेसले अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने कार्यमा मौन बस्न नहुने पनि स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *