एभरेष्ट बैंकको नाफा ४.५७ प्रतिशतले बढ्यो

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा सन्तुलित वित्तीय प्रदर्शन देखाएको छ। बैंकको नाफा र अन्य प्रमुख सूचकहरूमा स्थिर सुधार आएको छ।

बैंकले शुक्रबार सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरण अनुसार, तीन महिनामा बैंकले १ अर्ब १७ करोड ९२ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४.५७ प्रतिशत बढी हो। गत आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब १२ करोड ७७ लाख ४० हजार रुपैयाँ नाफा कमाएको थियो।

यता, बैंकको सञ्चालन नाफा यस त्रैमासमा १ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा सञ्चालन नाफा १ अर्ब ६१ करोड १६ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। अर्ब १३ करोड ९० लाख रुपैयाँको आम्दानी बढेर २ अर्ब ४० करोड ३८ लाख रुपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा वृद्धिमा सहयोग पुगेको हो।

हाल बैंकको वितरणयोग्य नाफा ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ रहेको छ। बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ अर्ब ४१ करोड ८८ लाख रुपैयाँ राखिएको छ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब १२ अर्ब ८९ करोड २ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह २ खर्ब २७ अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ।

हाल बैंकसँग ०.७४ प्रतिशत खराब कर्जा (NPL) छ, जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा न्यून स्तर हो। बैंकको प्रतिशेयर आम्दानी (EPS) ३६ रुपैयाँ ४४ पैसा र प्रतिशेयर नेटवर्थ ५५ रुपैयाँ ६९ पैसा कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *