वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव अन्तिम नभएको बताएका छन् । युक्रेनका सहयोगी देशहरूले अमेरिकी प्रस्तावबारे चिन्ता व्यक्त गरिरहेको समयमा ट्रम्पको यो भनाई आएको हो ।
योजनामा ‘न्यायपूर्ण र दिगो शान्ति’ को लागि महत्त्वपूर्ण तत्त्वहरू भएको तर अझ धेरै काम आवश्यक रहेको शनिबार, युरोप, क्यानडा र जापानका नेताहरूले भनेका थिए । सीमा हेरफेर गर्ने र युक्रेनको सेना घटाउने प्रस्तावबारे उनीहरूले चिन्ता व्यक्त गरेका थिए । आइतबार बेलायत, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र युक्रेनका सुरक्षा अधिकारीहरू स्विट्जरल्याण्डको जेनेभामा भेट्दैछन् ।
‘युक्रेनले या त आफ्नो गरिमा छाड्नु पर्नेछ या अमेरिकामा सामेल हुनुपर्नेछ’ यस योजनाबारे युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भनेका थिए । ट्रम्पको शान्ति योजना रुसप्रति बढी नै झुकेको मानिएको छ । ट्रम्पले युक्रेनलाई २८ बुँदे योजना स्वीकार गर्न नोभेम्बर २७ सम्मको समय दिएका छन् । यो योजना सम्झौताको आधार बन्न सक्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ छ ।
हालको मस्यौदा युक्रेनको लागि उनको अन्तिम प्रस्ताव हो कि होइन भनेर शनिबार ट्रम्पलाई सोधिएको थियो । यसको जवाफमा उनले ह्वाइट हाउसमा पत्रकारहरूसमक्ष यो मेरो अन्तिम प्रस्ताव नभएको भनेका थिए । ‘कुनै न कुनै तरिकाले, हामीले यो युद्ध अन्त्य गर्नुपर्छ, त्यसैले हामी यसमा काम गरिरहेका छौँ’ उनले भने ।
