एक साताको वृद्धिपछि घट्यो सेयर बजार, परिसूचक २६५० भन्दा तल

काठमाडौँ । पछिल्लो एक सातादेखि निरन्तर उकालो लागिरहेको सेयर बजारमा आज ‘करेक्सन’ देखिएको छ। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले ओरालो लागेको हो। आज नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ विन्दुमा बन्द भएको छ। यो अघिल्लो कारोबारको तुलनामा ०.९९ प्रतिशतको गिरावट हो।

बजार घटे पनि कारोबार रकम भने उत्साहजनक नै देखिएको छ। आज कुल ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ । आज ३४२ वटा स्क्रिप ८४ हजार १५६ पटकको कारोबारमा १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

आजको बजारमा २५७ कम्पनीको कारोबार भएकोमा २११ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एउटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।

बजार घटे पनि केही कम्पनीका लगानीकर्ताले राम्रो नाफा कमाएका छन्। आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टिलरी, निफ्राको ऋणपत्र, स्वस्तिक लघुवित्त, झापा इनर्जी र आत्मनिर्भर लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनएमबि बैंकको डिवेञ्चरमा सर्वाधिक ८.९९ प्रतिशतको गिरावट देखिएको छ ।

बजारमा आज म्यानुप्यक्चरिङ र म्युचुअल फण्ड बाहेक सबै सूचक घटेका छन् । बैंकिङ लगायत सातवटा सूचकमा एक प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ । सबैभन्दा धेरै गिरावट लगानी समूहमा १.४८ प्रतिशतले भयो ।

कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको २३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी जोशी हाइड्रोपावर, ग्रीन भेञ्चर र एनआरएन इन्फ्रास्ट्रक्चरमा पनि लगानीकर्ताको उच्च आकर्षण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *