गोविन्दबहादुर बटालालाई सफाइ दिने मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपित मध्येका गोविन्दबहादुर बटाला ‘जीवित’लाई सफाइ दिने आफ्नै फैसला पुनरावलोकनमा रहेको मुद्दाको सुनुवाइ महान्यायाधिवक्ता कार्यालयबाट स्थगित गरिएको छ ।

पुनरावलोकनको रिटमाथि आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश अब्दुल अजीज मुसलमान र न्यायाधीश नित्यानन्द पाण्डेयको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।  हत्यामा प्रत्यक्ष संलग्न नभएको भन्ने आधारमा सर्वोच्च अदालतले बटालालाई सफाइ दिएको थियो । बटालालाई सफाइ दिएपछि सरकारले महान्यायाधिवक्ता कार्यालय मार्फत पुनरावलोकनको निवेदन दिएको थियो ।

काठमाडौँदेखि चितवनसम्म अपहरण गर्ने काममा बटाला प्रत्यक्ष संलग्न थिए । बटाला घटनामा संलग्न नभएको ठहर गर्दै न्यायाधीशहरू तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सफाइ दिएको थियो ।

अर्का आरोपित सङ्कल्प भनिने अर्जुन कार्कीलाई जिल्ला र पुनरावेदन अदालतकै फैसला सदर गरी २० रुपैयाँ जरिवाना गरेको हो । बटालाले यसअघि नै ३ वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन् ।

यो मुद्दामा जोडिएका ३ जना अझै फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको छ । सर्वोच्च अदालतले २०६८ साल असार ६ गते यो घटनामा रामहरि श्रेष्ठको अपहरणदेखि अपराधको सिलसिला सुरु भएको भनी त्यसमा संलग्नहरू कसुरदार हुने व्याख्या गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *