बागलुङमा रास्वपाको टिकट वितरणमा असन्तुष्टि, स्वतन्त्र उम्मेदवारी दिने चेतावनी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले बागलुङमा टिकट वितरण गर्दा सावधानी नअपनाएको भन्दै व्यापक असन्तुष्टि बढेको छ । रास्वपाले क्षेत्र नम्बर १ मा सुशील खड्का र २ मा सोम शर्मालाई टिकट थमाएको छ । तर उनीहरू जनतासँग नभिजेका र भूगोलका बारेमा समेत ज्ञान नभएको भन्दै असन्तुष्टि सामाजिक सञ्जालमा पोखिएका छन् । क्षेत्र नम्बर १ बाट टिकटका दाबेदार समेत रहेका खिमानन्द कँडेलले केन्द्रबाट हस्तक्षेप गरेको भन्दै विरोध जनाए ।

‘टिकट वितरणमा राष्ट्रिय स्वतन्त्र पार्टीमा केन्द्रबाट भएको ठाडो हस्तक्षेपको हामी निन्दा गर्दछौँ,’ उनले भने, ‘बागलुङ जिल्लाको परिवर्तनको लडाइँमा कुनै योगदान नदिएका रास्वपा भित्र ग्याङ अफ अमेरिकन क्लबको लिस्टमा अटेर केन्द्रमा पहुँच राख्ने मित्रलाई टिकट थमाएको खबर छ । यो बागलुङे जनताको हित विरुद्धको कदम भयो ।’ उनले जनताको भावना र मर्मलाई कुल्चँदै गरिएको ठाडो हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । अर्का नेता राजेन्द्र शर्मा पनि केन्द्रले हस्तक्षेप गरेर दिएको टिकटमा खुसी छैनन् ।

‘अब समग्र बागलुङको परिवर्तन को लागि बागलुङ १ बाट एकपटक मलाई मौका दिनुहोस् । मेरो उम्मेदवारी परिवर्तनको लागि स्वतन्त्र उम्मेदवार को रूपमा हुनेछ,’ उनले भने, ‘टिके प्रथा प्रति हामी समग्र बागलुङ बासी राष्ट्रिय स्वतन्त्र पार्टी एक छौँ । जय घण्टी ।’ टिकट वितरण गरिएका उम्मेदवारहरूलाई धेरैले ‘टुरिस्ट उम्मेदवार’ भन्दै व्यङ्ग्य गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *