सामाजिक विषयको प्रायोगिक अन्तर्गत जुनियर सिटिजन्स एकेडेमी पर्साका विद्यार्थीहरूले गरे वडा कार्यालय भ्रमण

पर्सा। बीरगञ्ज महानगरपालिका वडा नम्बर २६ स्थित जुनियर सिटिजन्स एकेडेमी, पर्सा विद्यालयका विद्यार्थीहरूले सामाजिक विषयको प्रायोगिक शिक्षाअन्तर्गत वडा कार्यालयको भ्रमण गरेका छन्। उक्त भ्रमण कार्यक्रममा करिब ३० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

भ्रमणका क्रममा विद्यार्थीहरूले बीरगञ्ज महानगरपालिका वडा नम्बर २६ को वडा कार्यालयबाट प्रवाह हुने विभिन्न सेवाहरू तथा वडा कार्यालयले गर्नुपर्ने कामहरूका बारेमा जानकारी लिएका थिए। वडा कार्यालयले प्रदान गर्ने जन्म, मृत्यु, विवाह दर्ता, सिफारिस सेवा, सामाजिक सुरक्षा भत्ता लगायतका विषयमा विद्यार्थीहरूलाई बुझाइयो।

यसैगरी, गाउँ–टोलमा देखिने समस्या तथा ती समस्याको समाधान वडा कार्यालयले कसरी गर्छ भन्ने विषयमा पनि जानकारी दिइयो। वडा कार्यालयले सडक, नाला, सरसफाइ तथा अन्य विकास निर्माणका कामहरू प्रभावकारी रूपमा गर्दै आएको जानकारी गराइएको थियो।कार्यक्रमका क्रममा वडाध्यक्ष शम्भु मिश्राले विद्यार्थीहरूलाई वडा कार्यालयको भूमिका, जिम्मेवारी र स्थानीय सरकारको महत्वबारे स्पष्ट रूपमा जानकारी गराउँदै शिक्षामूलक सुझाव दिएका थिए।

विद्यालय प्रशासनका अनुसार यस्तो व्यवहारिक भ्रमणले विद्यार्थीहरूको सामाजिक ज्ञान अभिवृद्धि गर्नुका साथै स्थानीय शासनप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *