बालबालिकालाई चुनावी प्रचारमा प्रयोग गरिएकामा ध्यानाकर्षण

काठमाडौँ, १३ माघ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले निर्वाचन आचारसंहिता विपरीत बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग गरिएका क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता सकिएसँगै बालबालिकालाई जुलुसमा सहभागी गराइएको, राजनीतिक दलको चुवान चिन्ह र उम्मेदवारको तस्वीर भएको टिसर्ट लगाई प्रयोग गरिएको, पार्टी कार्यालय र सम्पर्क कार्यालयमा विद्यालय पोशाकमै बालबालिकाको उपस्थित गराइएको, दलगत प्रचारप्रसारका लागि झण्डा बोकाई बालबालिकाको प्रयोग गरिएको समाचार आएको भन्दै सो अभियानले आपत्ति जनाएको हो । आचारसंहिताको प्रभावकारी अनुगमन र कारवाहीका लागि सिजपले निर्वाचन आयोगलाई आग्रह पनि गरेको छ ।

सो अभियानका अध्यक्ष तिलोत्तम पौडेलले ‘बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन्’ भन्ने मान्यतालाई चुनौती दिँदै कानुन विपरीत हुने गरी गरिएका यस्ता क्रियाकलाप विरोध गर्दै बालबालिकाको दलगत प्रयोग बन्द गर्न तथा बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रका रूपमा विकास गर्न आग्रह गर्नुभयो । बालबालिकासम्बन्धी ऐन, २०७५ र विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ को विरुद्ध हुने गरी गरिएका यस्ता क्रियाकलापले बालबालिकाको मनोभावना, उनीहरूको सुरक्षाका साथै विद्यालयको शैक्षिक कार्यक्रममा प्रत्यक्ष असर पार्नुका अतिरिक्त बालबालिकाको भविष्य तथा सिङ्गो समाजलाई दूरगामी रूपमा नकारात्मक असर पर्ने पौडेलको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *