मुगुमा फेरि हिमपात : बस्ती सेताम्य, किसानलाई राहत

मुगु । मुगु जिल्लामा मंगलबार रातिदेखि फेरि हिमपात भएको छ । लामो समय खडेरीपछि गत शुक्रबार र शनिबार परेको बाक्लो हिउँ पग्लिन नपाउँदै गएराति रारा, मुर्मा, पिना, कोटीला, खमाले, ताल्चा, झयारी, माथितुम, रोवा, सोभा, टोप्ला, तल्लेख, घटटलेख, डोल्फू, मुगु, चितै, श्रीकोट, सोरुकोट लगायतका उच्च बस्तीहरूमा भारी हिमपात भएको हो ।

हिमपातले वनपाखा रुखहरू र बस्तीहरू सेताम्य बनाएको छ, जसले स्थानीयलाई आउजाउ गर्न कठिनाइ पुर्‍याएको छ । दोस्रो पटकको हिमपातसँगै अत्याधिक चिसो बढेपछि वृद्ध, बालबालिका र दीर्घरोगीलाई विशेष समस्या भएको छ ।

उच्च लेकाली बस्तीमा रहेका विद्यालयको पढाइ प्रभावित भएको छ भने फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूले मतदाता भेट्न घरदैलो जान कठिनाइ भएको छ ।

तर, लामो समयको खडेरीपछि किसानहरूलाई यस वर्षको वर्षा र हिमपात राहतको महसुस भएको छ । मुर्मा गाउँका कृषकहरूले भने, ‘हिमपातले जौ, गहुँबाली, फलफुल र जडिबुटी उत्पादन बढाउन सहयोग पुर्‍याउनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *