काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ। बैठकमा छलफलका लागि नौ वटा एजेन्डा तय गरिएको पार्टीले जनाएको छ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा संगठनात्मक गतिविधिबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरिनेछ। साथै केन्द्रीय सदस्यहरूले आ-आफ्ना कार्यक्षेत्रको प्रतिवेदन पेस गर्ने कार्यक्रमसमेत रहेको छ। यसका लागि २० जना सदस्यलाई दुई-दुई मिनेटको समय छुट्याइएको जनाइएको छ।
बैठकमा आगामी महाधिवेशनसँग सम्बन्धित कार्यविधिको प्रारम्भिक मस्यौदा, पार्टी विधानमा आवश्यक संशोधन, तथा स्थानीय तहका उम्मेदवार छनोटका लागि क्लब गठन र आवेदन प्रक्रिया सम्बन्धी विषयहरू प्राथमिक छलफलमा रहनेछन्।
त्यसैगरी प्रवासमा रहेका नेपालीलाई विदेशमै मतदानको व्यवस्था गर्न सकिने सम्भावनाबारे समेत छलफल गरिनेछ। पार्टी सचिवालयले गरेका निर्णयहरूको अनुमोदनसम्बन्धी विषय पनि एजेन्डामा समावेश गरिएको छ।
विभिन्न आयोग, निकाय तथा पदाधिकारीबाट प्राप्त पत्राचारहरूको व्यवस्थापन, विषयगत विभागहरूको कार्ययोजना तयारी, नीति सम्बन्धी छलफल तथा संसदीय दलको विधान संशोधनका विषयमा पनि बैठकमा विचार–विमर्श हुने पार्टीले जनाएको छ। तीन वटा छुट्टै प्रस्तावमार्फत विविध समसामयिक विषयमा छलफल अघि बढाइने तयारी गरिएको रास्वपाले स्पष्ट पारेको छ।
