काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नयाँ कारोबार प्रणाली कार्यान्वयनमा आएसँगै लगानीकर्ताहरूमा उत्साहभन्दा बढी अन्योलता देखिएको छ। नयाँ प्रणालीबीच बजारले सकारात्मक रूपमा लिन नसकेको हो । साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचकमा गिरावट आएको छ।
मंगलबार नेप्से परिसूचक १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा बन्द भएको छ। अघिल्लो दिन पनि बजार १३ अंकले घटेको थियो । आज दिनभर कुल ३४७ कम्पनीका ५ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा आज २१५ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ४८ कम्पनीको मूल्य बढेको छ। ६ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएन।
बजार समग्रमा घटे पनि केही कम्पनीका लगानीकर्ताले भने उल्लेख्य नाफा कमाएका छन्। सूर्यकुण्ड हाइड्रोपावर र पाल्पा सिमेन्टको सेयर मूल्यमा १५ प्रतिशत वृद्धिसहित सकारात्मक सर्किट लागेको छ। यस्तै, शिखर पावर डेभपलमेन्ट कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य पनि झन्डै १५ प्रतिशतले नै बढेको छ। एशियन हाइड्रोपावरको सेयरमूल्य पनि १० प्रतिशत भन्दा धेरैले बढेको छ ।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। यसको ३७ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३० करोड १९ लाख रुपैयाँको कारोबार भएको छ। घट्दो बजारमा आज होटल तथा टुरिजम क्षेत्र मात्रै १.१६ प्रतिशतले बढेको छ । घटेका सूचकमध्ये अन्य समूहमा १.२७ प्रतिशत गिरावट नै सबैभन्दा धेरै घटेको छ ।
