काठमाडौं । नेपाली कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिएको छ । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले स्पष्टीकरण फिर्ता लिएको हो । समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८३ वैशाख २ गतेको निर्णयानुसार पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खडकालाई पदीय जिम्मेवारीका सम्बन्धमा स्पष्टीकरण सोधिएकोमा सम्मानित सर्वोच्च अदालतको मिति २०८३–०१–०४ गतेको फैसलापश्चात् उक्त निर्णयको औचित्य समाप्त भएकोले हाल यस विषयको निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गर्दछ,’ । यस्तै बैठकले रामेछाप जिल्ला सभापति कान्छाराम तामाङलाई पदबाट निलम्बन गर्ने निर्णय पनि गरेको छ ।
यी हुन् बैठकका निर्णयहरू–
१. नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८३ वैशाख २ गतेको निर्णयानुसार पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खडकालाई पदीय जिम्मेवारीका सम्बन्धमा स्पष्टीकरण सोधिएकोमा सम्मानित सर्वोच्च अदालतको मिति २०८३–०१–०४ गतेको फैसलापश्चात् उक्त निर्णयको औचित्य समाप्त भएकोले हाल यस विषयको निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गर्दछ ।
२. नेपाली कांग्रेस रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ९कान्छाराम० लाई नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८३–०१–०७ गतेको निर्णयअनुसार अनुशासन उल्लघंनको कसुरमा स्पष्टीकरण सोधिएकोमा निजले पार्टी नेतृत्वका विरुद्धमा वद्नियत राखी भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको कुरालाई स्वीकार गरी त्यस्तो अभिप्राय थिएन भनी मिति २०८३–०१–०८ गतेका दिन दिनु भएको स्पष्टीकरण जवाफ प्रारम्भिक रूपमा हेर्दा सन्तोषजनक एवं चित्तबुझ्दो नदेखिएको हुँदा यस विषयमा थप अनुसन्धान गरी निर्णय तहमा पुग्नु पर्ने देखिएकोले निज पूर्णबहादुर तामाङ (कान्छाराम) लाई सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य प्रभावित हुने भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ ९३० बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा निर्णय नहुन्जेलसम्मका लागि पूर्णबहादुर तामाङ ९कान्छाराम० लाई आजैका मितिदेखि नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गर्दछ ।
३. नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको २०८२–१२–१८ गतेको निर्णयअनुसार २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा अनुशासन उल्लघंन गरिएको भनी विभिन्न जिल्लाका जिम्मेवार व्यक्तिहरू र प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूले नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा दिनु भएको उजुरीहरूलाई छानबिनबाट वर्गीकरण गर्ने कार्य सम्पन्न भई सकेकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (१) बमोजिम अनुशासन उल्लघंन गरेको भनी आरोप लागेका व्यक्तिहरूबाट ७ (सात) दिनभित्र स्पष्टीकरण (सफाई) लिने निर्णय गर्दछ ।
