बेइजिङ : मध्यपूर्वमा जारी तनावका कारण विश्वमा ऊर्जाको अभाव र मूल्य वृद्धिको अवस्था छ । यस्तोमा चीनले २२५ वटा नयाँ तेल र ग्यास फिल्ड पत्ता लगाएको जनाएको छ । बिहीबार चीनको प्राकृतिक स्रोत मन्त्रालयले यो जानकारी सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार, पाँच वर्षमा आफ्नो सीमाभित्र नयाँ पत्ता लागेका फिल्डमध्ये १३ वटा तेल फिल्डमा १०/१० करोड टनभन्दा बढी भण्डार रहेका छन् । २६ वटा ग्यास फिल्डमा १०० अर्ब घनमिटरभन्दा बढी प्राकृतिक ग्यासको भण्डार रहेको बताइएको छ ।
यद्यपि ती स्रोतहरू कति मात्रामा तत्काल प्रयोगयोग्य छन भन्ने स्पष्ट गरिएको छैन, तर नयाँ भण्डार वृद्धिका कारण चीनको प्राकृतिक ग्यास उत्पादन क्रमशः बढ्ने र तेल उत्पादन वार्षिक करिब २० करोड टनमा स्थिर रहने अपेक्षा गरिएको छ । अधिकारीहरूले ऊर्जा सुरक्षाको दृढ रूपमा रक्षा गर्ने प्रतिबद्धता जनाउँदै तेल तथा ग्यास अन्वेषणलाई थप तीव्र बनाउने बताएका छन् । मन्त्रालयले गत दशकको तुलनामा कच्चा तेल र प्राकृतिक ग्यासको ज्ञात भण्डार लगभग दोब्बर बनाउन ४५० अर्ब युआन (६६ अर्ब डलर)भन्दा बढी लगानी गरिएको पनि जनाएको छ ।
यो विकास स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द हुँदा विश्वव्यापी ऊर्जा संकट उत्पन्न भएको पृष्ठभूमिमा आएको हो । विश्वकै सबैभन्दा ठूलो ऊर्जा आयातकर्ता चीनले आफ्नो करिब १० प्रतिशत तेल इरानबाट आयात गर्दै आएको छ । त्यसैले विश्व बजारको झट्काबाट पूर्ण रूपमा सुरक्षित नभए पनि दीर्घकालीन ऊर्जा आत्मनिर्भरता नीतिका कारण अन्य ठूला अर्थतन्त्रभन्दा केही राम्रो अवस्थामा रहेको विश्लेषण गरिएको छ । यसैबीच, चिनियाँ राष्ट्रपति सि जिनपिङले बाह्य झट्काबाट उत्पन्न चुनौतीहरूलाई प्रणालीगत रूपमा समाधान गर्न, ऊर्जा तथा स्रोत आपूर्तिको सुरक्षा सुदृढ गर्न र अनिश्चितताबीच उच्च गुणस्तरीय विकासमार्फत स्थिरता कायम गर्न आह्वान गरेका छन् ।
