काठमाडौं । संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकामा बेपत्ता भएका दुई नेपालीको खोजीका लागि सहयोग गर्न त्यहाँस्थित नेपाली समुदाय तथा संघसंस्थाहरूसँग अनुरोध गरेको छ ।
राजदूतावासले बिहीबार तस्वीरहरुसहित एक सूचना जारी गर्दै बेपत्ता भएकाहरूको खोजीका लागि सम्बन्धित क्षेत्रका प्रहरी निकायसँग समन्वय भइरहेको र उनीहरूबारे कुनै महत्वपूर्ण जानकारी भएमा तुरुन्त उपलब्ध गराउन आग्रह पनि गरेको हो ।
दूतावासका अनुसार, बेपत्ता भएका २९ वर्षीय पवन गैरे नेब्रास्काबाट फ्लोरिडा जाने क्रममा गत मार्चदेखि सम्पर्कविहीन भएका छन् । उनी अध्ययनका लागि नेब्रास्का लिंकन विश्वविद्यालय पुगेका थिए र मे २०२५ मा इलेक्ट्रिकल इन्जिनियरिङमा विद्यावारिधि पूरा गरेका थिए । मार्च २७ मा उनको गाडी पेन्साकोला वीचमा फेला परेको थियो ।
त्यस्तै, २६ वर्षीय विकास न्यौपाने अर्लिङ्गटनमा अन्तिमपटक देखिएका थिए । उनी आर्लिंगटनको टेक्सास विश्वविद्यालयमा अध्ययनका लागि ४ अगस्ट २०२१ मा अमेरिका पुगेका थिए । न्यौपाने करिब दुई वर्षदेखि परिवारसँग सम्पर्कविहीन रहेको दूतावासले जनाएको छ ।
राजदूतावासले दुवै घटनामा सम्बन्धित प्रहरी निकायसँग समन्वय गर्दै खोजी कार्यलाई तीव्र बनाइएको जनाएको छ । दूतावासले बेपत्ता व्यक्तिहरूबारे जानकारी भएमा सम्पर्क नम्बर २०२–७७४–४७८० वा २०२–४८०–६८५८ वा इमेलमार्फत जानकारी दिन अनुरोध गरेको छ ।
