रास्वपाको कलैयामा भएको उपनिर्वाचन खारेजको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका कार्यकर्ताले कलैया उपमहानगरपालिका अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग गरेका छन् । उनीहरूले अधिवेशन सम्पन्न भइसकेपछि विजयी घोषणा गरिएको नेतृत्वलाई पुनः निर्वाचन गराउनु पार्टी विधान र लोकतान्त्रिक प्रक्रियाविपरीत भएको आरोप लगाएका छन् ।

कार्यकर्ताहरूका अनुसार २०८३ साल जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमाशंकर रनिया १२४ मत सहित बिजयी भएका थिए ।निर्वाचनपछि रनियाको शपथग्रहणसमेत सम्पन्न भएको अवस्थामा दुई दिनपछि सामाजिक सञ्जालको ह्वाट्सएप समूहमार्फत पुनः उपनिर्वाचन हुने सूचना दिइएको समर्थक धिराज पटेलले जानकारी दिए ।

उनले उक्त सूचना कुनै आधिकारिक पत्र, हस्ताक्षर वा पद उल्लेखबिनाको साधारण कागजमा सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका छन् । कार्यकर्ताहरूले ‘५० प्रतिशतभन्दा बढी मत नपुगेको’ भन्ने आधार देखाएर पुनः निर्वाचन गराइएको दाबी गरिएको भए पनि निर्वाचनकै दिन यस्तो विषय किन नउठाइएको भन्दै प्रश्न गरेका छन् ।

पार्टीका निर्वाचन प्रतिनिधि र नेतृत्वले विधानको सही व्याख्या नगरेको, विजयी घोषणा गरी माला र अबिर लगाइसकेपछि पुनः निर्वाचन गराउनु अनुचित भएको पटेलको दाबी छ । उनले उपनिर्वाचन सीमित प्रतिनिधिबीच गराइएको र अधिकांश वडा प्रतिनिधिलाई सहभागी हुन नदिइएको आरोपसमेत लगाएका छन् ।

उनले पार्टी नेतृत्वसँग उपनिर्वाचनको आधार सार्वजनिक गर्न, पारदर्शिता कायम गर्न तथा निष्पक्ष रूपमा पुनः प्रक्रिया अघि बढाउन माग गरेका छन् । उनले रास्वपा समर्थकहरु परिवर्तनको आशामा पार्टीमा आबद्ध भएको तर पछिल्लो घटनाले निराश बनाएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *