इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो : राष्ट्रपति ट्रम्प

न्यूयोर्क : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियानले आफ्नो चुनावी प्रतिबद्धता उल्लंघन नगरेको बताएका छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै उनले आफूले चुनावी अभियानका क्रममा नयाँ युद्ध सुरु नहुने विषयमा पूर्ण ग्यारेन्टी नदिएको स्पष्ट पारे ।

राष्ट्रपति ट्रम्पले आफू शान्ति र स्थायित्वको पक्षमा रहेको उल्लेख गर्दै इरानसँगको वर्तमान द्वन्द्वलाई ‘अन्तहीन युद्ध’ को रूपमा नहेर्न आग्रह गरे । उनका अनुसार यो अभियान सीमित उद्देश्यका लागि सञ्चालन गरिएको हो र यसको मुख्य लक्ष्य इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नु रहेको छ ।

अन्तर्वार्ताका क्रममा ट्रम्पले भने,“मैले युद्ध कहिल्यै नहुने निश्चित वाचा गरेको थिइनँ । विश्वको सबैभन्दा शक्तिशाली सैन्य शक्ति निर्माण गर्नुको उद्देश्य नै आवश्यक परे देशको सुरक्षा सुनिश्चित गर्नु हो ।”

सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनाव अभियानमा ट्रम्पले आफूलाई नयाँ युद्धबाट टाढा रहने तथा अन्तर्राष्ट्रिय द्वन्द्वहरूलाई नियन्त्रणमा राख्ने नेताका रूपमा प्रस्तुत गरेका थिए ।

तर इरानसँगको युद्ध सुरु भएपछि उनका आलोचकहरूले उक्त अभियानका प्रतिबद्धता र वर्तमान नीतिबीच विरोधाभास रहेको टिप्पणी गर्दै आएका छन् ।

यद्यपि राष्ट्रपति ट्रम्पले आलोचनालाई अस्वीकार गर्दै इरानसँगको संघर्षलाई राष्ट्रिय सुरक्षासँग जोडिएको आवश्यक कदमको रूपमा व्याख्या गरे । उनले इरानले आणविक हतियार विकास गर्ने सम्भावनालाई रोक्न अमेरिका सक्रिय हुनुपरेको बताए ।

ट्रम्पले इरानका आणविक संरचनामाथि गरिएको अमेरिकी कारबाही सफल भएको दाबी पनि दोहोर्‍याएका छन् । साथै उनले आफ्नो पहिलो कार्यकालमा इरानसँग भएको आणविक सम्झौताबाट अमेरिका बाहिरिने निर्णय सही रहेको धारणा व्यक्त गरे।

उनका अनुसार उक्त सम्झौताले अपेक्षित परिणाम दिन नसकेको थियो र थप प्रभावकारी सम्झौताका लागि समय आवश्यक पर्नेछ । अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकहरूसँग सम्बन्धित केही आर्थिक तथा राजनीतिक विषयमा पनि धारणा राखेका थिए ।

यसैबीच, इरानसँगको युद्ध र मध्यपूर्वको विकसित अवस्थाले अमेरिकी राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ बहस सिर्जना गरेको छ । राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई आगामी दिनमा अमेरिकी राजनीतिक वृत्तमा थप चासोका साथ हेरिने अपेक्षा गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *