बुटवल । सत्ता पक्षकै केही सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै विरोध गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक लगातार प्रभावित बनेको छ। बुधबारका लागि बोलाइएको बैठकसमेत बस्न नसकी पुनः बिहीबारसम्मका लागि स्थगित गरिएको छ।
मंगलबार बैठक सुरु भएलगत्तै सत्ता पक्षका केही सांसद तथा प्रतिपक्षी दलका सांसदहरूले बजेटप्रति विरोध जनाएपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए। त्यसपछि बैठक पुनः सञ्चालन हुन नसकेपछि सूचना जारी गर्दै बुधबारका लागि सारिएको थियो।
तर बुधबार पनि दलहरूबीच सहमति जुट्न नसकेपछि प्रदेश सभा सचिवालयले अर्को सूचना जारी गर्दै बैठक बिहीबारसम्मका लागि स्थगित गरेको छ। यसअघि सोमबार पनि सांसदहरूले बजेटसम्बन्धी ‘रातो किताब’ समयमै प्राप्त नभएको भन्दै बैठक मंगलबारका लागि सारिएको थियो।
नेकपा (एमाले) की सांसद नरमाया ढकालले बजेट निर्माण प्रक्रियामा सांसदहरूले सिफारिस गरेका योजनाहरू हटाइएको तथा मुख्यमन्त्री र मन्त्रीहरूले एकलौटी रूपमा योजना समावेश गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
उनले सांसदहरूले सिफारिस गरेका योजना काट्ने र मुख्यमन्त्री तथा मन्त्रीहरूले आफ्नो इच्छाअनुसार बजेट विनियोजन गर्ने काम भएकाले विरोध गर्नुपरेको बताइन्।
बजेटप्रति देखिएको असन्तुष्टि समाधान गर्न समय आवश्यक रहेको भन्दै सरकारले मंगलबार सभामुख तुलाराम घर्ती मगरसँग बैठक स्थगित गर्न अनुरोध गरेको थियो। तर दलहरूबीच अझै सहमति जुट्न नसकेकाले बैठक फेरि स्थगित गरिएको हो।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेपछि त्यसका विभिन्न पक्षलाई लिएर सत्ता पक्षभित्रै असन्तुष्टि देखिएको छ।
