विराटनगरबाट हराएको पेट्रोल ट्याङ्कर सुनसरीमा फेला

काठमाडौँ : नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगर नजिकैको पार्किङ स्थलबाट हराएको पेट्रोल बोकेको ट्याङ्कर सुनसरीमा बेवारिसे अवस्थामा फेला परेको छ । २० हजार लिटर पेट्रोल बोकेको उक्त ट्याङ्कर बाट ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएपछि निगमले ढुवानीकर्तालाई कारबाही गर्दै दोब्बर रकम असुल गरेको छ ।

निगमको कोशी प्रादेशिक कार्यालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छ । विज्ञप्ति अनुसार, नवीन ढुवानी सेवा प्रालिको को १ ख ६१९० नम्बरको ट्याङ्कर ले असार ६ गते इन्डियन आयल कर्पोरेसनको सिलिगुढी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरेको थियो ।

उक्त ट्याङ्कर असार ७ गते बिहान ८ बजे निगमको डिपोदेखि करिब ३०० मिटर दुरीमा रहेको कदमगाछीस्थित पार्किङमा आइपुगेको थियो । तर, असार ८ गते बिहान ९ बजे ढुवानीकर्ताले ट्याङ्कर हराएको जानकारी निगमलाई गराएका थिए ।

निगमले तत्काल प्रहरीलाई खबर गरी सिसिटिभी फुटेज अध्ययन गर्दा उक्त ट्याङ्कर बिहान ३ः०३ बजे पार्किङबाट बाहिरिएर नोबेल अस्पतालतर्फ गएको देखिएको थियो । खोजी कार्यलाई तीव्रता दिँदा निगमबाट करिब १७ किलोमिटर टाढा सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका–८ स्थित हुलाकी राजमार्गमा ट्याङ्कर बेवारिसे अवस्थामा फेला परेको थियो। भेटिँदा ट्याङ्कर को ताला काटिएको अवस्थामा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *