सक्रिय नेता कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षाको जिम्मेवारी लिन्छु, भाग्नेलाई ठाउँ छैन : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा सक्रिय रहेका नेता तथा कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षाको जिम्मेवारी आफूले लिने बताएका छन् ।

शनिबार राप्रपाको काठमाडौं महानगरपालिका नगर अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने अवस्था आएकाले पार्टीमा सक्रिय रहेका नेता तथा कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षाको जिम्मेवारी आफूले लिने भन्दै निराश नहुन आग्रह समेत गरे ।

उनले राप्रपाका सबै नेता–कार्यकर्ताका लागि मंसिर २६, २७ र २८ गते हुने महाधिवेशन नै मुख्य ‘अर्जुन दृष्टि’ र ऐतिहासिक कोसेढुङ्गा हुने धारणा समेत राखे ।

विगत ३५ वर्षदेखि सत्तामा रहेका दलहरूप्रति जनताको आक्रोश रहेको र नयाँ सरकार बनेपछि पनि मुलुक निराशातर्फ गएकाले गरिब, सुकुम्बासी र आम जनताका लागि राप्रपा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने उनले बताए ।

लिङ्देनले पद मात्रै खोज्ने तर काम वा लडाइँको बेला भाग्ने मानिसलाई पार्टीमा ठाउँ नहुने र काम गर्ने, चुनाव जिताउन सक्नेका लागि पार्टीको ढोका खुला रहने स्पष्ट पारे ।

त्यस्तै, उनले पार्टीभित्र फरक मत राख्नेहरूसँग कुनै बदलाभाव नरहने र सबैलाई समेटेर लैजाने बताउँदै हाल चलिरहेको सक्रिय सदस्यता अभियानमा जुट्न आह्वान समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *