काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय विभिन्न कारणले चार वटा समुदाय एमालेसँग टाढिएको विश्लेषण गरेका छन्। शनिबार तारकेश्वरमा आयोजित ‘मिसन पार्टी जागरण, २०८३’ तथा संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले चुनावको बेला चार वटा समुदाय टाढिएको बताए।
त्यसको ठाउँ लोकप्रियतावादले लिन खोजेको उनको भनाइ छ। ‘अब नेपालको राजनीतिमा वैकल्पिक शक्तिका नाममा पपुलिज्म अगाडि आउन खोजिरहेको छ,’ उनले भने।
महासचिव पोखरेलले विशेष गरी २०७९ सालको निर्वाचन यता शहरी मध्यम वर्ग, भूमिहीन सुकुम्वासी तथा शहरी गरिब, नयाँ पुस्ताका युवा र वैदेशिक रोजगारीमा रहेका नेपाली एमालेबाट टाढिँदै गएको सुनाए। नयाँ पुस्तामा पार्टीप्रतिको आकर्षण घट्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे।
‘हामीले आम निर्वाचनका बेला चार वटा समुदाय हामीबाट टाढिएको विश्लेषण गरेका थियौँ। पहिलो, राजधानीमा ठूलो हिस्सा रहेको शहरी मध्यम वर्ग हामीबाट टाढिन खोज्यो,’ पोखरेलले थपे, ‘दोस्रो, भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासमा रहेका र शहरी गरिबहरू हामीबाट टाढिए।’
यससँगै विदेशमा रहेका नेपालीहरू पनि एमालेप्रति नकारात्मक बन्दै गएको उनको ठम्याइ छ। ‘तेस्रो, नवयुवाको सहभागिता हाम्रो आन्दोलनमा क्रमशः घट्दै गयो। अहिले त युवाहरू फाट्टफुट्ट मात्र देखिन्छन्, त्यो पनि उत्साहित ढंगले होइन,’ महासचिव पोखरेलले भने, ‘चौथो, विदेशमा रहेका नेपालीहरू हामीप्रति नकारात्मक बन्दै गए।’
एमालेले यी कमजोरीहरू पहिचान गरी सुधारका लागि ‘मिसन ग्रासरुट’ लगायतका अभियान सञ्चालन गरे पनि तल्लो तहमा त्यसको कार्यान्वयन प्रभावकारी हुन नसकेको उनले स्वीकारे।
‘यी समुदायसँगको सम्बन्ध सुधार गर्न हामीले योजना बनायौँ, अभियान चलायौँ र परिपत्र जारी गरेर कमजोरी भएका क्षेत्रमा सुधार गर्न निर्देशन पनि दियौँ,’ उनले भने, ‘मिसन ग्रासरुटअन्तर्गत हरेक वडामा १० जना युवा पहिचान गरी नेतृत्व विकासको तालिम दिन र पार्टी काममा जोड्न निर्देशन दिइयो। तर त्यो काम आम रूपमा हुन सकेन।’
हरेक वडामा १० युवा पहिचान गरी नेतृत्व विकासको तालिम दिने र स्थानीय तह अनुसार २५० जनासम्म युवा भेला गर्ने पार्टीको निर्देशन आम रूपमा पालना हुन नसकेको उनको भनाइ छ।
