हैदारावाद । साउथ इन्डियन मुभीका अभिनेता जुनियर एनटीआरको बुधबार काँधको शल्यक्रिया हुँदैछ । काँधमा चोट लागेपछि उनी उपचार गराइरहेका थिए र चिकित्सकहरूले उनलाई शल्यक्रियाको सुझाव दिएपछि आज शल्यक्रिया हुन लागेको हो, उनी त्यसका लागि अस्पतालमा भर्ना भएका छन् । यो शल्यक्रिया हैदरावादस्थित किम्स अस्पतालमा गरिनेछ । जुनियर एनटीआरका प्रशंसकहरू उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
जुनियर एनटीआरको टोलीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘जुनियर एनटीआरको बुधबार हैदरावादस्थित अस्पतालमा काँधको शल्यक्रिया हुनेछ । काँधको चोटको स्वास्थ्य परीक्षणपछि यो शल्यक्रिया तय गरिएको हो । चिकित्सकहरूको टोली एनटीआरको शीघ्र र सहज स्वास्थ्यलाभका लागि प्रयासरत छ । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थाबारे जानकारी उपलब्ध गराइनेछ । तपाईंहरूको निरन्तर सहयोगका लागि धन्यवाद ।’
उपचारको एक भागका रूपमा जुनियर एनटीआरलाई यो शल्यक्रिया गराउन सुझाव दिइएको छ । शल्यक्रियापछि, उनको स्वास्थ्य लाभको प्रक्रियालाई चिकित्सक टोलीले नजिकबाट निगरानी गर्नेछ । शल्यक्रियापश्चात् उनको स्वास्थ्य र सुधारसम्बन्धी जानकारी उनको कार्यालयले उपलब्ध गराउने छ ।
जुनियर एनटीआरको टोलीले यस कठिन समयमा देखाएको चासो, समझदारी र निरन्तर सहयोगका लागि प्रशंसक, शुभचिन्तक तथा सञ्चारमाध्यम प्रति आभार व्यक्त गरेको छ । साथै, उनीहरूले शल्यक्रिया र स्वास्थ्यलाभको अवधिमा उनको गोपनीयताको सम्मान गर्न पनि आग्रह गरेका छन् ।
जुनियर एनटीआरको करियरलाई हेर्दा उनले सन् १९९१ मा ‘ब्रह्मर्षि विश्वामित्र’ चलचित्रमा भरतको भूमिका निर्वाह गर्दै बाल कलाकारका रूपमा पदार्पण गरेका थिए । त्यसपछि सन् १९९७ मा उनले ‘रामायणम’मा रामको भूमिका निभाए । सन् २००१ मा ‘स्टुडेन्ट नम्बर १’ चलचित्रमार्फत उनले मुख्य अभिनेताका रूपमा पदार्पण गरे, जसमा उनले भेनु रेड्डीको पात्र निभाएका थिए ।
उनी अब सन् २०२७ मा ‘ड्र्यागन’ चलचित्रमा देखिने छन् । हाल यसको छायाङ्कन भइरहेको छ । यस चलचित्रमा अनिल कपुर, रुक्मिणी वसन्त र बिजु मेननजस्ता कलाकारहरू रहेका छन् । प्रशान्त नीलले यस चलचित्रको निर्देशन गरिरहेका छन् भने रवि बसुर यसका संगीत निर्देशक हुन् ।
