पुजारीको भेषमा लुकिछिपी बस्दै आएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४३ वर्ष पछि पक्राउ

जनकपुरधाम । सिराहामा साधुबाबा (पुजारी)को भेषमा लुकिछिपी बस्दै गरेको अवस्थामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४३ वर्ष पछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका ५ खरुक्याहीका ८० वर्षीय ठकाई यादव रहेका छन् ।

प्रहरीका अनुसार यादव समेत ११ जना प्रतिवादीहरू मिलेर २०४१ वैशाख १ गते सोही स्थानमा वैशाखे मेलाको अवसरमा मन्दिरमा बोका चढाउने विषयमा विवाद हुँदा साबिक खरुक्याही गाविस ४ बस्ने रजिन्द्र यादवलाई घेरा हाली कुटपिट गरी हत्या गरेका थिए ।

सोही घटनामा संलग्न भएको आरोपमा उच्च अदालत यादवलाई १ वर्ष कैद सजाय तोकेको थियो । सजाय पाएसँगै फरार भएका यादवलाई बिहीबार (हिजो) आफ्नो गाउँस्थित शिवमन्दिरमा पुजारीको भेषमा लुकिछिपी बस्दै आएको बेला प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ लगत्तै यादवलाई जिल्ला अदालतमा सिराहामा बुझाएको छ । प्रहरीका अनुसार सोही घटनामा संलग्न अन्य ११ जना फरार प्रतिवादीहरूको मृत्यु सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *