काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी प्रतिपक्षको भूमिकामा रहेकाले संसदमा जनसरोकारका विषयलाई सशक्त ढंगले उठाउन पार्टीका नेता तथा कार्यकर्ता सुसूचित हुनुपर्ने बताएका छन्।
आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित ‘सुवर्णशमशेर इकोनोमिक सिरिज’ कार्यक्रममा बोल्दै सभापति थापाले संसदीय जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न र नीतिगत विषयमा स्पष्ट हुन यस्ता छलफल महत्त्वपूर्ण हुने बताए।
उनले पार्टीका नेताहरू बौद्धिक तथा समसामयिक विषयमा शिक्षित हुनुपर्ने र नयाँ विषयवस्तुबारे जानकारी राख्नुपर्नेमा जोड दिए। यस्ता कार्यक्रमले कार्यकर्ताको जिज्ञासा र रुचि बढाउने उनको विश्वास छ।
सभापति थापाले भने, ‘हामी अहिले प्रतिपक्षको जिम्मेवारीमा छौँ र संसदमा हाम्रा केही निश्चित उत्तरदायित्वहरू छन्। ती जिम्मेवारीलाई कसरी कुशलतापूर्वक निर्वाह गर्ने भन्ने विषयमा गम्भीर छलफल आवश्यक छ।
आजको छलफलबाट साथीहरूले थप जानकारी प्राप्त गर्नुहुनेछ भन्ने मेरो विश्वास छ। यसले भोलिका दिनमा विभिन्न विषयमा व्यापक दृष्टिकोण बनाउन मद्दत पुग्नेछ।’ उनले कार्यक्रममा उठाइएका विषय र प्राप्त सुझावलाई संसदमा पुर्याइने बताए।
