बागमतीका तीन सांसदलाई हटाउने राप्रपाको तयारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्णयविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन प्रदेशसभा सदस्यलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ।

पार्टीको निर्देशन अटेर गर्दै सरकारमा सहभागी भएको भन्दै राप्रपाले प्रदेशसभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।

राप्रपाको केन्द्रीय अनुशासन समितिले यसअघि तीनै जनासँग १२ घण्टे स्पष्टीकरण मागेको थियो। तर तोकिएको समयभित्र उनीहरूले कुनै जवाफ नदिएपछि पार्टीले पुनः १२ घण्टाको समय दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार तीनै जनालाई टेलिफोन, एसएमएस, म्यासेन्जर, भाइबर र ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट स्पष्टीकरणको सूचना पठाइएको छ।

यसअघि राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि कारबाही गरिसकेको छ। पार्टी सदस्यता निलम्बन गर्दै उनलाई प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गर्न सिफारिस गरिएको छ।

अब भने सरकारमा रहेका तीन प्रदेशसभा सदस्यलाई पनि सांसद पदबाट हटाउने प्रक्रिया अघि बढाउने राप्रपाको तयारी छ। पार्टी उच्च स्रोतका अनुसार उनीहरूलाई पदमुक्त गर्न बागमती प्रदेशका सभामुख र निर्वाचन आयोगलाई पत्र पठाउने तयारी गरिएको छ।

राप्रपाले पार्टीको आधिकारिक निर्णय र निर्देशनविपरीत प्रदेश सरकारमा सहभागी हुने कार्यलाई अनुशासन उल्लंघनका रूपमा लिएको छ। तीनै सांसदले पार्टीले मागेको स्पष्टीकरणको जवाफ नदिएपछि थप कारबाहीको बाटो खुलेको पार्टीको भनाइ छ।

सभामुख र निर्वाचन आयोगमा पत्र पठाएपछि उनीहरूको प्रदेशसभा सदस्य पदसम्बन्धी प्रक्रिया अघि बढ्ने र त्यससँगै मन्त्री पदसमेत गुम्ने अवस्था सिर्जना हुने राप्रपाको तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *