मुख्यमन्त्री थापालाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज विश्वासको मत लिने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक एकालाल श्रेष्ठले सोमबार जारी गरेको निर्देशनमा मुख्यमन्त्री थापामगरले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव राख्ने भएकाले प्रदेशसभा बैठकमा अनिवार्य सहभागी हुन भनिएको हो ।

निर्देशनमा एमालेका प्रदेश सभा सदस्यहरूलाई मुख्यमन्त्री थापामगरले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न समेत आग्रह गरिएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिन लागेकाले एमाले संसदीय दलले आफ्ना सांसदलाई ह्वीप जारी गर्दै प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको हो ।

एमालेका थापा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा ४ भदौमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *