काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासोका आधारमा काठमाडौंको नागार्जुन क्षेत्रमा रहेका खाद्य व्यवसायमा आकस्मिक बजार अनुगमन तथा निरीक्षण गरेको छ। विभागले २०८३ भदौ ५ गते गरेको निरीक्षणका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निर्देशन तथा कारबाही अघि बढाएको हो।
विभागका अनुसार नागार्जुन–२ स्थित दारी बा को दुग्ध भण्डारमा गुणस्तरहीन दूध बिक्री वितरण भइरहेको भन्ने गुनासोका आधारमा अनुगमन गरिएको थियो। निरीक्षणका क्रममा व्यवसायको सरसफाइ अवस्था सामान्य रहे पनि कीट नियन्त्रणको व्यवस्था सन्तोषजनक नरहेको पाइएको विभागले जनाएको छ।
उक्त व्यवसाय दर्ता भएको भए पनि खाद्य अनुमतिपत्र नभएको उद्योगबाट बेकरीजन्य खाद्य पदार्थ खरिद गरी बिक्री वितरण भइरहेको पाइएको थियो। विभागले अनुमतिपत्र नभएको उद्योगबाट बेकरीजन्य खाद्य पदार्थ खरिद नगर्न निर्देशन दिएको छ।
थप अनुसन्धान तथा प्रयोगशाला परीक्षणका लागि खुला दूधको नमुनासमेत संकलन गरिएको विभागले जनाएको छ। संकलित नमुना गाई र भैंसीको दूधको रहेको छ।
त्यस्तै, नागार्जुन–३ स्थित त्रिशक्ति बेभेरेज इन्डस्ट्रिज प्रालिमा जारको प्रशोधित पानीमा किरा भेटिएको भन्ने गुनासोका आधारमा निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा उद्योगको सरसफाइ अवस्था सामान्य रहेको भए पनि प्रशोधन कक्षका पाइपहरू लिकेज भएको अवस्थामा पाइएको विभागले जनाएको छ।
यस्तै, उद्योगका कामदारहरूले काम गर्ने क्रममा चुरा, घडी, औंठीलगायतका गरगहना नछोपी काम गरिरहेको पाइएको थियो। विभागले प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ बमोजिम कार्य गर्न उद्योगलाई निर्देशन दिएको छ।
थप अनुसन्धानका लागि प्रशोधित पिउने पानीको नमुनासमेत संकलन गरिएको विभागले जनाएको छ। नमुना परीक्षणपछि आवश्यकताअनुसार थप कारबाही अघि बढाइने विभागको विवरणमा उल्लेख छ।
विभागले गुनासो व्यवस्थापनका लागि आकस्मिक ‘र्यापिड रेस्पोन्स मोडालिटी’मार्फत बजार अनुगमन तथा निरीक्षणलाई निरन्तरता दिइरहेको जनाएको छ।
