काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं महानगरपालिकासहितको बजार अनुगमन टोलीमार्फत सिभिल अस्पतालमा सञ्चालित मध्यपुर भान्छा सेवाको आकस्मिक निरीक्षण तथा अनुगमन गरेको छ।
विभागमा प्राप्त गुनासो व्यवस्थापनका लागि २०८३ भदौ ८ गते र्यापिड रेस्पोन्स मोडालिटीमा गरिएको अनुगमनका क्रममा भान्छाको सरसफाइ सामान्य अवस्थामा रहेको पाइएको छ। निरीक्षणका क्रममा भान्साको ढोका खुला रहेको, फोहोरदानी खुला अवस्थामा रहेको तथा फ्रिजमा खाद्य पदार्थहरू अव्यवस्थित रूपमा भण्डारण गरिएको भेटिएको विभागले जनाएको छ।
त्यस्तै, भान्छामा प्रभावकारी कीट नियन्त्रणको व्यवस्था नभएको समेत पाइएको छ। खाद्य पदार्थ तार्न प्रयोग गरिएको तेलको टीपीएम (TPM) ११ प्रतिशत रहेको र उक्त अवस्था मापदण्डअनुकूल रहेको अनुगमन टोलीले जनाएको छ।
अनुगमनपछि विभागले व्यवसाय सञ्चालकलाई नियमित सरसफाइ गर्न, भान्साको ढोका मर्मत गर्न, ढक्कनसहितको फोहोरदानी प्रयोग गर्न तथा फ्रिजमा खाद्य पदार्थलाई लेबलसहित छोपेर व्यवस्थित रूपमा भण्डारण गर्न निर्देशन दिएको छ। साथै, कीट नियन्त्रणको व्यवस्था प्रभावकारी रूपमा व्यवस्थापन गर्न पनि निर्देशन दिइएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको उक्त अनुगमनमा एक वटा खाद्य व्यवसायको निरीक्षण गरिएको विभागले जनाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले २०८३ भदौ १० गते अनुगमनसम्बन्धी विवरण सार्वजनिक गरेकी हुन्।
