काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नुवाकोटस्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टर तथा राहत सामग्री संकलन केन्द्रमा उपलब्ध खाद्य पदार्थको निरीक्षण तथा अनुगमन गरेको छ।
विभागबाट भदौ १७ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोटको संयुक्त टोलीले बाढीपीडितका लागि संकलन गरिएका राहत खाद्य पदार्थको भण्डारण, गुणस्तर तथा वितरण अवस्थाबारे अनुगमन गरेको हो।
अनुगमन टोलीले देवीघाटस्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा रहेको होल्डिङ सेन्टर तथा विदुर नगरपालिकामा रहेको सेल्टर हाउसको निरीक्षण गरेको थियो। त्यहाँ पिउने तथा खाना पकाउने प्रयोजनका लागि जार तथा बोतलका प्रशोधित पिउने पानी उपलब्ध रहेको पाइएको छ।
भाँडा माझ्नका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को ट्यांकरमार्फत पानी उपलब्ध गराइएको तथा स्थानीय बासिन्दा र सहयोगदाताबाट प्राप्त ताजा तरकारीलगायत सामग्रीको भण्डारण अवस्था सन्तोषजनक रहेको विभागले जनाएको छ।
अनुगमनका क्रममा हात धुने साबुन, पानी तथा सरसफाइका आवश्यक सामग्री पनि पर्याप्त रूपमा उपलब्ध रहेको पाइएको छ। दाल, चामल, नुन, तेल, चिउरा, चाउचाउ र बिस्कुटलगायत खाद्यान्न सामग्री उपलब्ध स्रोतसाधनको प्रयोग गरी सामान्य रूपमा भण्डारण गरिएको जनाइएको छ।
त्यसैगरी जिल्ला समन्वय समिति नुवाकोटमा रहेको एकीकृत राहत सामग्री संकलन तथा वितरण केन्द्रमा खाद्यान्न, सेल्टरका लागि आवश्यक सामग्री, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री उचित रूपमा भण्डारण गरिएको पाइएको छ। वितरणका लागि तयारी अवस्थामा रहेका खाद्यान्नको अस्थायी भण्डारण पनि सन्तोषजनक रहेको विभागले जनाएको छ।
भण्डारण गरिएका प्रशोधित खाद्य पदार्थको उपभोग्य मिति समाप्त नभएको अनुगमनका क्रममा पाइएको छ। राहत खाद्य सामग्रीको भण्डारण तथा वितरण कार्य खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोटको प्रत्यक्ष निगरानीमा भइरहेको जनाइएको छ।
संयुक्त टोलीले नुवाकोटमा रहेका दुई वटा होल्डिङ सेन्टर तथा राहत सामग्री संकलन केन्द्रको अनुगमन गरेको हो। वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माद्वारा जारी विवरणमा बाढीपीडितलाई उपलब्ध गराइने राहत खाद्य पदार्थको गुणस्तर र सुरक्षित वितरणमा विशेष ध्यान दिइएको उल्लेख गरिएको छ।
