राहत खाद्य सामग्रीको अनुगमन गर्दा म्याद गुज्रिएका वस्तु फेला

काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि पठाउन तयारी अवस्थामा राखिएका राहत खाद्य सामग्रीको निरीक्षणका क्रममा म्याद गुज्रिएका तथा म्याद सकिन लागेका खाद्य वस्तु भेटिएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौंको संयुक्त अनुगमन टोलीले २०८३ भदौ १९ गते विभिन्न पाँच स्थानमा राहत खाद्य सामग्रीको निरीक्षण गरेको हो।
अनुगमनका क्रममा शहरी विकास तथा भवन निर्माण विभाग, बबरमहलमा राखिएका राहत सामग्रीमध्ये यशोदा फुड्स प्रालि, रुपन्देहीको करेन्ट चिप्स ३० थान र गिरिधारी फुड प्रोडक्ट, बुटवलको भुजा २१ बोरा म्याद गुज्रिएको भेटिएको विभागले जनाएको छ। ती सामग्री छुट्टै ‘एक्सपायर्ड जोन’ मा राखिएको छ।
त्यस्तै, प्रहरी तालिम केन्द्र, सामाखुसीमा राखिएका राहत सामग्रीमध्ये चोकोफनका दुई प्याकेट र पाँच किलोको एक प्याकेट चक्की आटा म्याद गुज्रिएको पाइएको छ। साथै, ५९ प्याकेट दालमोठको उपभोग्य मिति दुई दिन मात्र बाँकी रहेकाले उक्त सामग्रीसमेत अस्वीकार गरी छुट्टै एक्सपायर्ड जोनमा राखिएको विभागले जनाएको छ।
राधा स्वामी सत्सङ्ग, सामाखुसीमा पनि २५ किलोको एक बोरा उसिना चामलको उपभोग्य मिति समाप्त भएको भेटिएको थियो। उक्त चामल अस्वीकार गरी छुट्टै राखिएको छ।
यसैबीच, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थालाथलीस्थित गोदाम तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका राहत खाद्य सामग्रीको अवस्था भने सन्तोषजनक पाइएको विभागले जनाएको छ। ती सामग्रीमा आवश्यक लेबल, ब्याच नम्बर, उत्पादन/प्याकेजिङ उद्योगको विवरण तथा उपभोग्य मिति उल्लेख भएको पाइएको छ।
विभागले राहत खाद्य सामग्री वितरण गर्दा असल वितरण अभ्यास (Good Distribution Practice) अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। अनुगमन गरिएका राहत सामग्री भण्डारण स्थलको कुल संख्या पाँच वटा रहेको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *