काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भोटेकोशी बाढीपीडितका लागि उपलब्ध गराइने राहत खाद्य सामग्रीको निरीक्षण तथा अनुगमन गरेको छ।
विभागले २०८३ भदौ २३ गते काठमाडौंको सामाखुसीस्थित राधा स्वामी सत्सङ्गमा राखिएका राहत खाद्य सामग्रीको अनुगमन गरेको हो। अनुगमनका क्रममा जिरा चामल, लोकल पोखरेली चामल, चिउरा, चाउचाउ, भुजा, बिस्कुट, आँपको पेय पदार्थ, उसिना चामल, मसिना चामल, आयो नुनलगायतका खाद्य सामग्री राहतका लागि पठाउने तयारी अवस्थामा रहेको पाइएको विभागले जनाएको छ।
अनुगमनका क्रममा अधिकांश खाद्य सामग्रीको लेबलमा ब्याच नम्बर, उत्पादन/प्याकेजिङ गर्ने उद्योगको नाम तथा ठेगाना उल्लेख भएको र उपभोग्य मिति समाप्त नभएको पाइएको थियो। तर उसिना चामल र मसिना चामल खुला तथा बिना लेबलको अवस्थामा राहतका लागि प्राप्त भएको विभागले जनाएको छ।
अन्य खाद्य सामग्रीको अवस्था भने सन्तोषजनक रहेको विभागको निरीक्षण विवरणमा उल्लेख छ। विभागले राहत सामग्री वितरण गर्दा असल वितरण अभ्यास (Good Distribution Practice) अपनाउन निर्देशन दिएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनमा राहत सामग्री राखिएको एक स्थानको निरीक्षण गरिएको विभागले जनाएको छ।
अनुगमन टोलीको नेतृत्व वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माले गरेकी थिइन्।
