काठमाडौं । बाढी, पहिरो र सडक मर्मतका कारण बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन् । सम्भावित बाढी र पहिरोका कारण केही स्थानमा यातायात पूर्ण रूपमा बन्द छ भने केही स्थानमा समय तालिका तोकेर तथा एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही राजमार्गको ज्वाडखोला र शीतलबजार क्षेत्रमा भने पहिरो पन्छाएर एकतर्फी रूपमा गाडी सञ्चालन गरिएको छ ।
यस्तै, रसुवा र नुवाकोट जोड्ने मुख्य सडकहरू बाढीका कारण नराम्ररी प्रभावित भएका छन् । त्रिशुली-मैलुङ-स्याफ्रुबेशी सडकको उत्तरगया–५ खाल्टे तथा अन्य मुख्य क्षेत्रहरूमा बाटो पूर्ण रूपमा अवरुद्ध छ । पासाङ ल्हामु सडक खण्डको विदुर–१० सिमटारमा पनि बाढीले बाटो ठप्प पारेको छ भने नुवाकोटको टोखा-छहरे सडकअन्तर्गत घट्टेखोलामा सम्भावित बाढी-पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ ।
उता बीपी राजमार्गको खुर्कोट-नेपालथोक–कटुञ्जेबेँसी खण्डमा भने समय तालिका तोकेर सवारी साधन छाड्ने गरिएको छ । सो क्षेत्रमा साँझ ७ देखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक गाडी र दिउँसोको समयमा परिस्थिति हेरेर अन्य सवारी सुचारु गराइएको छ ।
यसैगरी, चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलामा सडक मर्मत भइरहेकाले चाप अनुसार एकतर्फी रूपमा गाडी चलाइएको छ भने मनाङको चामे-बेसीसहर सडक खण्डको धारापानीमा सडक निर्माण जारी रहेकाले हाल साना सवारी साधनलाई मात्र आवतजावतको अनुमति दिइएको छ ।
