काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं महाधिवेशनमा भाग लिने वा नलिनेबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।
देउवा समूहको १५औं महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले सम्पर्क कार्यालय, चुनदेवीमा अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्न लागेका हुन् ।
कांग्रेसले आइतबार १४औं महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई पहिलेकै हैसियत दिने गरी महाधिवेशनमा सहभागी हुन आह्वान गरेको थियो । जुन विषयमा सोमबार इतर समूहले महाराजगन्जस्थित शेरबहादुर देउवा निवासमा छलफल भएको छ । इतर समूहको बैठकमा भएको निर्णयबारे शशांकले पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागेका हुन् ।
कांग्रेसको वडा अधिवेशन नजिकिँदै जाँदा दुईवटा महाधिवेशन हुने सम्भावना पनि बढ्दै गएको छ । इतर समूहले देउवाकै अध्यक्षतामा महाधिवेशन हुनुपर्ने अडान राखेको छ ।
कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले दुवै समूहको महाधिवेशनमा सहभागिता नजनाउने भएका छन् । उनीहरूले कांग्रेसमा तेस्रो धार बनाउन लागेका छन् ।
