रसुवा जोड्न फलाँखु खोलामा ७५ मिटर लामो बेलीब्रिज निर्माण गरिने

काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीका कारण सडक सञ्जालबाट विच्छेद भएको रसुवालाई नुवाकोट हुँदै जोड्न वैकल्पिक मार्ग निर्माण प्रक्रिया अघि बढाइएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको सूर्यगढी गाउँपालिका–२ तल्लो कुवापानीस्थित बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका–५ वहाखोलासम्म फलाँखु खोलामा ७५ मिटर लामो बेलीब्रिज निर्माण गर्न लागिएको हो।

रसुवामा सडक सम्पर्क विच्छेद भएपछि आवतजावत तथा सामान ढुवानीमा समस्या भइरहेका बेला उक्त बेलीब्रिजलाई रसुवा जोड्ने भरपर्दो र द्रुत वैकल्पिक मार्गका रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित पालिका अध्यक्षको अनुरोधअनुसार बेलीब्रिज निर्माणका लागि मन्त्रालयबाट आवश्यक निर्देशन तथा सहजीकरण गरिएको मन्त्रालयको भनाइ छ।

बेलीब्रिज निर्माण सम्पन्न भएपछि नुवाकोट र रसुवा जोड्ने सबैभन्दा छोटो वैकल्पिक सडक मार्ग तयार हुने अपेक्षा गरिएको छ। उक्त मार्गबाट फलाँखु खोलाबाट विदुर करिब २३ किलोमिटर र रसुवाको सदरमुकाम धुन्चे करिब ३५ किलोमिटरको दूरीमा पुग्न सकिने मन्त्रालयले जनाएको छ।

बेलीब्रिज निर्माणले सडक सम्पर्क पुनःस्थापना हुनुका साथै रसुवाका नागरिकको आवतजावत र अत्यावश्यक सामग्रीको ढुवानी सहज हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *