रास्वपा सहमहामन्त्री ढकालले भगाए ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त

जनकपुरधाम । महोत्तरी प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका अभियुक्तलाई पक्राउ गर्न गएको बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री एवं सांसद हरि ढकालले आफ्नो गाडीमा राखेर भगाएका छन् ।

ज्यान मार्ने उद्योग मुद्दाका आरोपी रास्वपा मनराशिसवाका पूर्वसभापति रोमन प्रताप सिंहलाई प्रहरीले पक्राउ गर्न गएको बेला आइतबार सहमहामन्त्री ढकालले प्रहरीलाई चक्मा दिँदै आफ्नो गाडीमा राखेर त्यहाँबाट भगाएको आरोप लागेको हो । ढकालले आरोपितलाई गाडीमा लिएर भगाएको सोही पार्टीका पीडित गोविन्द कापरले आरोप लगाएका हुन् ।

ढकालले पद र सत्ताको दुरुपयोग गरेको भनी घटनाको सामाजिक सञ्चालमा रास्वपा पार्टीप्रति चर्को आलोचना भइरहेको छ । प्राप्त जानकारीअनुसार चितवन–१ बाट सांसद रहेका ढकाल पार्टीको चलिरहेको लेखा परीक्षण कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका थिए । जिल्ला समन्वय समितिमा आयोजित लेखा परीक्षण कार्यक्रमको क्रममा घटना भएको बताइएको छ ।

सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ता कापरले ज्यान मार्ने उद्योगको जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दिएको जाहेरीको आधारमा प्रहरीले पक्राउ गर्न पुगेको थियो । सो जाहेरीको मुद्दा मिलाउन सहमहामन्त्री ढकालले जिल्ला प्रशासन कार्यालयमा समेत पीडित पक्षलाई छलफलका लागि बोलाई जाहेरी फिर्ता लिन दबाब दिएका थिए । तर पीडित पक्षले मानेन ।

पीडितको दबाबपछि जिससमा आयोजित लेखा परीक्षण कार्यक्रमकै बेला प्रहरी टोली सिंहलाई पक्राउ गर्ने तयारी गरेको थियो । तर सिंह पक्षका व्यक्तिहरुले नाराबाजी गर्दै प्रहरीलाई घेर्दै भित्र छिर्न दिएनन् । सोही क्रममा ढकालले सिंहलाई आफ्नो गाडीमा बसाएर त्यहाँबाट लगेका थिए । घटनाबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीले पनि पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी दिएको जानकारीअनुसार जेठ महिनामा रास्वपा पार्टीको अधिवेशनको क्रममा पार्टीका दुई पक्षबीच भएको झडपमा गोविन्द कापर घाइते भएका थिए । उनको जाहेरीको आधारमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले सिंहलाई पक्राउ गर्न गएको बेला रास्वपाका केही कार्यकर्ताले होहल्ला गर्दै प्रहरीलाई रोक्न खोजेका थिए । सोही क्रममा पार्टीका नेताले आफ्नो गाडीमा बसाएर आरोपित सिंहलाई भगाएका हुन् ।

गत जेठ १७ गते मनराशिसवा नगरपालिकामा रास्वपाको नगर अधिवेशनको क्रममा दुई पक्षबीच भएको झडप रोमन सिंह पक्षले गरेको आक्रमणमा तीन जना घाइते घाइते भएका थिए । घटनामा बथनाहाका २८ वर्षीय गोविन्दकुमार कापर, २५ वर्षीय अभिशेष झा र रविशंकर चौधरी घाइते भएका थिए ।

घटनापश्चात कापर पक्षले रोमन सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यानको जाहेरी दिएको थियो । रास्वपाले महाधिवेशनको तयारीस्वरूप देशभर नगर अधिवेशन सञ्चालन गरिरहेको बेला सिंहले आफू नै पुनः नेतृत्व पाउने गरी निर्वाचनमा नजाने अडान राखेपछि कापर पक्षले विरोध गर्दा विवाद बढ्दै झडपमा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *