काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि पठाउन तयारी अवस्थामा राखिएको राहत खाद्य सामग्रीको अनुगमनका क्रममा म्याद गुज्रिएको दालमोठ फेला परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०८३ साल भदौ ३० गते काठमाडौंको सामाखुसीस्थित राधा स्वामी सत्सङ्गमा राहत सामग्रीको निरीक्षण तथा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा मिक्स सातु, सर्वोत्तम लिटो, जेली क्यान्डी, कर्न फ्लेक्स, चोको पाई, चिकेन सुप, जौ सातु, चकलेट, म्याकारोनी, दालमोठ, बिस्कुट, चाउचाउ, सोयाबिन तेललगायतका खाद्य सामग्री बाढीपीडितका लागि पठाउन तयारी अवस्थामा रहेको विभागले जनाएको छ। विभागका अनुसार अधिकांश खाद्य सामग्रीको लेबलमा ब्याच नम्बर, उत्पादन वा प्याकेजिङ गर्ने उद्योगको नाम तथा ठेगाना उल्लेख हुनुका साथै उपभोग्य मिति पनि कायम रहेको पाइएको थियो। तर, चार प्याकेट दालमोठको उपभोग्य मिति समाप्त भएको भेटिएको थियो।
म्याद समाप्त भएको दालमोठलाई अन्य राहत सामग्रीबाट छुट्याएर नष्ट गर्नका लागि राखिएको विभागले जनाएको छ। विभागले राहत खाद्य सामग्री वितरण गर्दा असल वितरण अभ्यास (Good Distribution Practice) अपनाउन निर्देशनसमेत दिएको छ। बाढीपीडितका लागि पठाइने खाद्य सामग्री सुरक्षित, गुणस्तरीय र उपभोगका लागि योग्य हुनुपर्नेमा विभागले जोड दिएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको उक्त अनुगमनमा राहत सामग्री राखिएको एक स्थान निरीक्षण गरिएको विभागको विवरणमा उल्लेख छ।
अनुगमन प्रतिवेदनमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माको हस्ताक्षर रहेको छ। प्रतिवेदन २०८३ भदौ ३१ गते जारी गरिएको हो।
