दाङमा जिप दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं : दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। शुक्रबार बेलुकी घोराही–१२ को साजखर्कबाट पश्चिम दाङको साशर खोला जाँदै गरेको भे १ ज ६०४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

दुर्घटनामा घोराही उपमहानगरपालिका–१२ का ४० वर्षीय शेरमान घर्तीको मृत्यु भएको हो। उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउँदा चिकित्सकले शुक्रबार बेलुकी मृत घोषणा गरेका थिए।

दुर्घटनामा घोराही–१२ का १३ वर्षीय उमेश बुढा, ६ वर्षीय विकास बुढा, २८ वर्षीय धनबहादुर घर्ती, २५ वर्षीय मानबहादुर बुढा र तुलसीपुर उपमहानगरपालिका–१३ का ९ वर्षीय अनमोल पुन घाइते भएका छन्। उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको प्रतिष्ठानमा उपचार भइरहेको छ । दुर्घटनापछि प्रहरीले जिपका चालक तथा धनी घोराही–१२ का ३७ वर्षीय धमन घर्ती मगरलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *