नारायणगोपालको ३६औँ स्मृति दिवसमा स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम हुने

काठमाडौं । स्वरसम्राट नारायणगोपालको ३६औँ स्मृति दिवसको अवसरमा नृत्य विधाका मूर्धन्य तथा सम्मानित कलाकार भैरवबहादुर थापालाई विशेष सम्मान गरिने भएको छ।

नारायणगोपाल संगीत कोषले प्रत्येक वर्ष आयोजना गर्दै आएको स्रष्टा सम्मान, पुरस्कार वितरण तथा सांगीतिक कार्यक्रम यस वर्ष आगामी मंसिर १९ गते शनिबार आयोजना गर्ने भएको हो।

नारायणगोपाल संगीत कोषका अध्यक्ष दीपक केसीका अनुसार स्वरसम्राट नारायणगोपालको सपना तथा उहाँले अघि बढाउनुभएको ‘बागिना’को अवधारणालाई पूर्ण सार्थकता दिने उद्देश्यले यस वर्ष नृत्य विधाका कलाकार थापालाई विशेष सम्मान गर्न लागिएको हो। बागिनाको परिभाषा बाजा, गीत र नाच भएकाले यस वर्ष नृत्य विधालाई प्राथमिकता दिइएको कोषले जनाएको छ।

यसैगरी, यस वर्षको नारायणगोपाल संगीत सम्मान गायनतर्फ गायक प्रकाश श्रेष्ठ, संगीततर्फ संगीतकार भूपेन्द्र रायमाझी र गीत रचनातर्फ गीतकार प्रमोद ढुंगानालाई प्रदान गरिने निर्णय भएको छ।

स्वरसम्राट नारायणगोपालको सांगीतिक योगदानको स्मरण गर्दै नेपाली संगीत क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टालाई सम्मान गर्ने उद्देश्यले कोषले हरेक वर्ष स्मृति दिवसका अवसरमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *