धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक तथा साम्प्रदायिक तनावको समाधान संवाद, सहकार्य र आपसी सम्मानबाट मात्रै सम्भव हुने बताएका छन्। उनले नेपाल सबै नेपालीको साझा देश भएकाले सबै धर्म मान्ने नागरिकको अधिकार समान रूपमा सुनिश्चित हुनुपर्ने बताएका छन्।

उनले धार्मिक सहिष्णुता र पारस्परिक सम्मान कायम राख्न सके मात्रै मुलुकमा दीगो शान्ति स्थापना हुन सक्ने उल्लेख गरेका छन्। साम्पाङले श्रम संस्कृति पार्टीले सबै धर्मप्रति समान सम्मान राख्ने नीति अवलम्बन गरेको स्पष्ट पार्दै कुनै पनि धर्मलाई नजिक वा टाढाको दृष्टिले नहेर्ने बताएका छन्।

हाल देखिएको धार्मिक तथा साम्प्रदायिक तनाव अन्त्य गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा सबै सरोकारवालाले सकारात्मक सोचका साथ संवाद र सहकार्य गर्नुपर्नेमा उनले जोड दिएका छन्। उनले शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उल्लेख गर्दै श्रम संस्कृति पार्टी सधैं सकारात्मक सहयोग गर्न तयार रहेको बताएका छन्।

साम्पाङले सामाजिक सञ्जाल वा अन्य कुनै पनि माध्यमबाट धार्मिक सद्भाव खलबल्याउने, घृणा फैलाउने वा परिस्थितिलाई थप उत्तेजित बनाउने अभिव्यक्ति नदिन सबैमा हार्दिक अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *