पञ्चायतकालमै ५ पटक मन्त्री भएका थिए दीपक बोहरा

काठमाडौँ । पूर्वपञ्च दीपक बोहराको मंगलबार निधन भएको छ । उनको राजधानीको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कोरोना महामारीका बेला गम्भीर बिरामी भएका उनी त्यतिबेलादेखि नै घाँटीसम्बन्धी समस्याबाट पीडित थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी घाँटीसम्बन्धी समस्याबाटै पीडित भएकाले बोल्न सक्दैनथे । सोही कारण उनी चुनाव र निर्वाचित भएपछि पनि प्रतिनिधिसभामा एक पटक पनि बोलेनन् । उनै बोहराको मंंगलबार निधन भएको राप्रपाका केन्द्रीय सदस्य जकनराज पाठकले जानकारी दिए । पञ्चायतकालमै राज्य र सहायकसहित ५ पटक मन्त्री बनेका उनी गणतन्त्रमा पनि कुल ४ पटक मन्त्री बनेका थिए ।

उनी २०३८ सालमा पर्यटन राज्यमन्त्री बने, सोही वर्ष पर्यटन सहायकमन्त्री बनेका थिए । यसैगरी २०४० सालमा पर्यटन राज्यमन्त्री, २०४३ सालमा निर्माण तथा यातायात राज्यमन्त्री तथा २०४४ सालमा निर्माण तथा यातायातमन्त्री बनेका थिए । यस्तै उनी गणतन्त्रपछि २०६७ सालमा बन तथा भूसंरक्षण मन्त्री बने भने केपी ओली नेतृत्वको सरकारका पालामा २०७२ सालमा श्रम तथा रोजगार मन्त्री, २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा आपूर्तिमन्त्री र शेरबहादुर देउवा नेतृत्वको सरकारमा २०७४ मा स्वास्थ्यमन्त्री बनेका थिए ।  यस हिसाबले उनी कुल ९ पटक मन्त्री बनेका थिए । २००७ चैत मा जन्मिएका उनी हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बोहराले तत्कालीन गृहमन्त्री  नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।

बोहरा नेपालको राजनीतिमा ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका थिए । २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए । उनी २०७० सालमा पनि रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसअघि बोहरा २०६४ सालको संविधानसभा चुनावमा भने रुपन्देही–१ मा माओवादी केन्द्रका घनश्याम यादवसँग पराजित भएका थिए। यस्तै २०७० को संविधानसभा निर्वाचनमा भने तत्कालीन क्षेत्र नम्बर २ बाट कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गर्दै विजयी भएका थिए ।  यस्तै प्रतिनिधि सभा निर्वाचन, २०७४ मा उनी नेकपा एमालेका घनश्याम भुसालसँग पराजित भएका थिए । स्वास्थ्यमा समस्या भएकै कारण उनी राप्रपाको राजनीतिमा खासै सक्रिय दिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *